रुमको गाल्दा पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरिया खर्च

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ ।साउन १७ गते पहिरोमा पुरिएर मालिका–२, रूम स्थित गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्च वापत एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

वडा कार्यालयले आयोजना गरेको शोकसभामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष उदयकुमार बुढाथोकी लगायतले रकम हस्तान्तरण गर्नुभएको थियो । पहिरोमा घामबहादुर, उनकी श्रीमति राममाया, छोरी रोजी, छोरा राजन र नविनको मृत्यु भएको थियो ।

पहिरोले हुत्ताएर घाइते भएका गोठे र उहाँकी श्रीमति गोरी बिक पोखरामा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पहिरोका कारण मालिकाको २ नम्बर वडामा ११ घरपरिवार विस्थापित भएका वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । दिवंगतको सम्झनामा आइतबार २ नम्बर वडाको सार्वजनिक निकायमा सार्वजनिक विदा दिइएको थियो ।

गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगर पुन, इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सागर पन्त, मालिका ४ का वडा अध्यक्ष भिजेन्द्रमान पुन, प्राबिधिक बिमलमान राई, विकास गुरुङ, स्वकीय सचिव बिनोद बुढाथोकीको टोलीले च्युरिबोट, ओखरबोट लगायत पहिरोले क्षति पु¥याएको र जोखिम बनाएको ठाउँको अनुगमन गर्नुभएको छ । वडा नम्बर ४ मा ६ घर पहिरोबाट विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार