एमाले बेनी नगरको अगुवा कार्यकर्ता प्रशिक्षण,‘सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो’

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो ।

एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीहरु विचार, सिद्धान्त र व्यवहारले कम्युनिष्ट नभई नामले मात्र कम्युनिष्ट भएको तर्क गर्नुभयो । उहाँले श्रमिक, मजदुर तथा किसानहरुको हितमा नरही पँुजीपतिको पक्षमा उभिनेहरुलाई कम्युनिष्ट भन्न नमिल्ने बताउनुभयो ।

प्रमुख प्रशिक्षक समेत रहनुभएका उपसचिव गुरुङले सवैभन्दा ठुलो शक्ति आत्म विश्वास हो भन्दै आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीको शक्ति, संगठन र विचारलाई विश्वास गरि जनता सामु प्रस्तुत हुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको छ ।स्थानीय तहको निर्वाचनमा ८० ठाउँमा २ देखि ५ सय भोटले हाम्रो पार्टीका उम्मेदवार हारेका छन, गुरुङले भन्नुभयो, “शक्तिको सहि पहिचान, परिचालन र व्यवस्थापन नहुँदा सो हार व्यहोर्नुपरेको हो” ।

निर्वाचनमा मतदान केन्द्र र मतगणना स्थलमा प्रतिनिधि पठाउँदा योगदानको आधारमा भन्दा पनि क्षमताको आधारमा पठाउनुपर्ने भन्दै उहाँले विपक्षीहरु संग मिलेमतो गरि पार्टीको अहितमा लाग्ने बेइमानहरुलाई त्यस्तो अवसर दिन नहुने धारणा राख्नुभयो ।

गण्डकी प्रदेश सरकारका पूर्व मुख्य मन्त्री समेत रहनुभएका गुरुङले अहिलेको सरकार अनियमितता र कमिसनमा चलेको आरोप लगाउदै राष्ट्र निर्माणका लागि एमालेको सरकारको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्थानीय तह निर्वाचनको समिक्षा तथा आगामी निर्वाचनको तयारी, र जिल्ला कमिटी उपाध्यक्ष तथा स्कल विभाग प्रमुख बालकृष्ण सुवेदीले पार्टी र स्थानीय तहका जनप्रतिनिधि विचको सम्वन्धको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य खुम बहादुर बानियाँ, जिल्ला कमिटी सचिव तथा बेनी नगरपालिका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा बेनी नगरकमिटीको पदाधिकारी तथा सदस्यहरु, बेनी नगरपालिका वडा नम्वर १, ५, ६, ८ र १० नम्वर वडाका जनप्रतिनिधिहरु, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु लगायतको सहभागीता रहेको बेनी नगर कमिटीले जनाएको छ ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुन, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष देवेन्द्र कटुवाल, उपसचिव तथा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीको अध्यक्षता, उपाध्यक्ष लिलाराम गौतमको स्वागत र सचिव सुवास विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार