केन्यालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी–२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी–२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।यसअघि नेपालले पहिलो टी–२० मा ५ विकेट र तेस्रो टी–२० मा ४ विकेटको जित निकालेको थियो। दोस्रो टी–२० मो केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी–२० मा उसले ७ रनको जित निकालेको थियो।

फाइल तस्बिर

मंगलबार नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेटको क्षतिमा १४४ रन मात्र जोड्न सक्यो।केन्याका ओपनर कोलिन ओबुया २३ रन र सुखदिप सिंह ४ रनमा आउट भए। इर्फान करिमले २८ रन जोडे भने राखेप पटेल १ रन र सचिन भुडिया शून्यमा आउट भए।

ओडियाम्बोले सबैभन्दा बढी ३७ रन जोडे। २२ बलमा ४ चौका र १ छक्का हिर्काएका उनलाई बसिर अहमेदले आउट गरे। बसिरले लुकासको पनि विकेट लिने क्रममा ४ रनमा आउट गरे। यस्तै एनगोचे ३३ रनमा नटआउट रहदा नेल्शन ओडियाम्बोले नटआउट १३ रन जोडे।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले २–२ विकेट लिए। करण केसी, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।त्यसअघि केन्याको नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका ज्ञानेन्द्रले ५९ रन जोडे। उनले ४४ बलमा ५ चौका र २ छक्का हिर्काए।रोहितकुमार पौडेल अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि ४७ रन जोडे। उनले २५ बलमा ७ चौका प्रहार गरे।

अर्का ओपनर अर्जुन साउदले २१ बलमा २९ रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ रन बनाए। पवन सर्राफ १ रन, आदिल अन्सारी ४ रन र विवेक यादव २ रनमा आउट भए।बलिङमा केन्याका विराज पटेल, शेम एनगोचे र ओडियाम्बोले २–२ विकेट लिए।

यसअघि नेपालले हार बेहोरेका दुवै टी–२० मा खराब ब्याटिङ गरेको थियो। दोस्रो टी–२० मा नेपालले १३३ रनको लक्ष्य पूरा गर्न नसक्दा चौथो टी–२० मा १०२ रनको लक्ष्य पार गर्न सकेन।अब नेपाल र केन्याले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्। नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते हुनेछ। सेतोपाटी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार