टिकट बुकिङ त गर्‍यौँ, सडकमा गाडी चल्न सक्ने हो कि होइनः यातायात व्यवसायी

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिरहँदा  यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने सडकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

सिटौलाले दसैँमा मेचीदेखि महाकालीसम्मका कुनाकाप्चाका सडकमा गाडी लैजानुपर्ने सुनाउँदै यतिबेला वर्षाका कारण धेरै ठाउँमा बाटाहरु बिग्रेको अवस्था रहेको जानकारी दिए । रातोपाटीसँग कुराकानी गर्दै सिटौलाले भने, ‘हामीले यात्रुहरूलाई सेवा दिनका लागि अग्रिम टिकट बुकिङ खुला त गरेका छौँ, तर सडकको अवस्था दयनीय छ । भोलि सडककै कारण समयमा सवारी आउन सकेन भने हामी जिम्मेवार हुँदैनौँ । त्यसैले यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

पहिरो जाने ठाउँमा हेभी इक्विपमेन्ट स्टान्डबाई राख्नुपर्ने तथा सडकका खाल्डाखुल्डी पुर्न सरकारलाई आफूहरूको सुझाव रहेको सुनाए । सिटौलाका अनुसार यसै सन्दर्भमा आइतबार मन्त्रालयमा छलफलका लागि बोलाइएको छ । ‘हामी सडकको अवस्था सुधार गर्नुका साथै नागरिकता सहायकता कक्षा राख्न सुझाव दिनेछौँ,’ उनले भने ।

उनले गोंगबु बसपार्कबाट अनलाइन बुकिङ सुरु गरिए पनि अब टिकट बुकिङलाई सबैतिर प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । विभिन्न स्वार्थका कारण अनलाइन टिकट बुकिङमा सरकारले प्राथमिकता नदिएको आरोप लगाउँदै अब घरघरमा बसेर टिकट लिने समय भइसकेको जिकिर गरे ।

सिटौलाले टिकट बुकिङ गर्दा प्राविधिक गल्ती हुन सक्ने बताउँदै सबै यात्रुहरूलाई एकपटक टिकट लिएपछि जाँच गर्न पनि सुझाव दिए । ‘यात्रुहरू झुक्किन सक्नुहुन्छ । टिकटको मिति, सिट नम्बर गल्ती छ कि छैन भनेर जाँच गर्नुहोला । यति गरियो भने समयमा सच्याउन सकिन्छ,’ उनले सुझाव दिए । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार