जनकल्याण माविमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा हिँजो (शनिवार)देखि अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको पूर्वसन्ध्याको अवसर पारेर भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा विद्यालयहरुबीच एकापसमा मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने उद्देश्यले अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । भोलि सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा बेनी नगरपालिकासहित जिल्लाको अन्य स्थानीय तहका विभिन्न १२ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्वको विकास गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा आयोजना हुने खेलकुदजन्य प्रतियोगिताहरुलाई सफल बनाउन जिल्ला खेलकुद विकास समितिको तर्फदेखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रतियोगिता अवधिभर अनुशासनपूर्वक खेलमा सहभागी हुन खेलाडीहरुलाई निर्देशन दिनुभयो ।

जनकल्याण मावि अक्षयकोषका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी र भूतपूर्व अध्यक्ष माधवप्रसाद रेग्मीले भलिबल प्रतियोगिताले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीको आकर्षण बढ्ने बताउनुभयो । विद्यालयका अध्यक्ष गोपाल बानियाँको अध्यक्षता र प्रधानाध्यापक कमलप्रसाद पौडेलले स्वागतसहित भलिबल प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको उद्घाटनसत्र शिक्षक शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच हिँजो शनिबारै भएको पहिलो खेलमा आयोजक विद्यालय जनकल्याण मावि र महेन्द्ररत्न मावि बरंजाबीच भएको प्रतियोगितामा जनकल्याण मावि विजयी भई दोस्रो चरणमा प्रवेश गरेको छ । यसैगरी बेनी सामुदायिक र न्यु वेष्ट प्वाइन्टबीच भएको खेलमा बेनी सामुदायिक मावि विजयी भएको छ भने पौलस्त्य मावि भीरमुनी र अर्जुन मावि भकुण्डेबीच भएको खेलमा अर्जुन मावि विजयी भई दोस्रो चरणमा प्रवेश गरेको विद्यालयका प्रअ पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार पुलाचौर समाज अस्टेलियाबाट हाल त्यहाँ रहेका विद्यालयका पूर्व विद्यार्थी तथा शुभचिन्तकहरुले सौजन्य गरेका छन् । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७५ हजार, द्वितीय ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रसहित खेलकुदको विभिन्न विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार