राष्ट्रिय महिला भलिबल : म्याग्दीली दुई चेलीले नेतृत्व गरेको टिम आमनेसामने हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज फाइनल प्रवेशका लागि गण्डकी प्रदेश र नेपाल पुसिल तथा सशस्त्र प्रहरीको एपीएफ क्लब र बागमती प्रदेशबिचमा प्रतिस्पर्धा हुँदै छ । एपिएफ र बागमति बिचको खेल विहान १० बजेदेखि सुरु हुने भएको छ भने पुलिस र गण्डकी प्रदेश विचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

खेलको क्वाटरफाइनलमा नेपाल प्रहरीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका हुन् । फाइनल प्रवेशका लागि हुन लागेको सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको विभागीय टिम नेपाल पुलिस क्लब र गण्डकी प्रदेश दुबै टिमको नेतृत्व म्याग्देली महिला खेलाडीले सम्हालेका छन् ।

प्रतियोगितामा म्याग्दीको मालिका गाउँपालिका–३,की कमला पुनले नेपाल प्रहरीको र रघुगंगा गाउँपालिका–३ ,पिप्लेकी अरुणा शाहीले गण्डकी प्रदेशको टिमको कप्तानी सम्हाल्नुभएको छ । गण्डकीको टिममा म्याग्दीकै अन्य चार खेलाडीहरु समेत सहभागी छन् । शाही राष्ट्रिय महिला भलिबलको समेत कप्तान हुनुहुन्छ । म्याग्देली दुई चेलीहरुले नेतृत्व गरेको टिमनै फाइनल प्रवेशका लागि आमनेसामने हुँदा आम म्याग्दीबासीको लागि खेल निकै रोचक र रुचिकर हुने देखिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

आफ्नै गृहजिल्लामा जारी प्रतियोगितामा आफ्नो टिमलाई अब्बल सावित गर्ने मौका समेत शाही र पुनलाई रहेको छ । दुबै राष्ट्रिय खेलाडी शाही र पुन विद्यालयस्तरमा हुने खेल, जिल्लास्तरीय तत्कालिन बिरेन्द्र शिल्ड प्रतियोगिता हुदै राष्ट्रिय टोलीमा आवद्ध भएर भलिबलबाटै स्थापित भइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार