पत्रकार महासंघको केन्द्रीय साधारण सभाको तयारी अन्तिम चरणमा

राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

  म्याग्दी न्युज संवाददाता

सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि सुर्खेतमा तीब्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधारण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तीब्र गतिमा भइरहेको हो ।

पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले देशभरबाट आउने पत्रकारहरुका लागि वीरेन्द्रनगरका २२ वटा होटलको व्यवस्थापन गरिएको बताए । साधारण सभामा झण्डै ७ सयभन्दा बढी पत्रकारको सहभागिता हुने बताइएको छ । साधारण सभाको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघको सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले कार्यक्रमको तयारीमा कुनै कमी हुन नदिने बताए ।

महासंघले सहभागीहरूका लागि चार छाक खान, बस्नको व्यवस्थापन गरेको छ । महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले ६७ वर्ष लामो इतिहासमा पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा हुन लागेको बताए । उनका अनुसार साधारण सभाको लागि आर्थिक दायित्व केन्द्रीय समितिले नै गरिरहेको छ । साधारण सभाका लागि कर्णाली प्रदेश सरकारले १७ लाख बजेट दिने निर्णय गरेको छ भने केन्द्रीय सरकार समक्ष पनि बजेटको माग गरिएको उनले बताए ।

सुर्खेत जिल्लाका सबै स्थानीय तह र सुर्खेत उद्योग वाणिज्य संघलाई पनि आर्थिक सहयोगका लागि आग्रह गरिएको उनको भनाइ छ । यद्यपि अहिलेसम्म प्रदेश सरकार बाहेक कुनै पनि निकायबाट बजेटबारे निर्णय भइसकेको छैन । महासंघका केन्द्रीय महासचिव रोशन पुरीले साधारण सभाको तयारी तीब्र गतिमा भइरहेको बताए । उनका अनुसार कार्यक्रममा वैदेशिक शाखादेखि पत्रकारसँग सम्बन्धित सम्पूर्ण शाखाबाट प्रतिनिधिहरु सहभागी हुने छन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनेछिन् । यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखले अतिथिको रुपमा सहभागिता जनाउने छन् ।

८ गते विहान ८ बजे वीरेन्द्रनगरको मंगलगढी चोकदेखि प्रभातफेरी सुरु हुने र ९ बजे उद्घाटन कार्यक्रम राखिएको जनाइएको छ । साधारण सभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिने भएको छ । महासंघको केन्द्रीय समितिको बैठक पनि ७ गते वीरेन्द्रनगरमै बस्ने छ ।

महासचिव पुरीले महासंघको विगतदेखि भइआएका गतिविधि र महासंघले आगामी दिनमा गर्नुपर्ने कार्य योजनाको बारेमा वृहत छलफल हुने बताए । साधारण सभाको अवसर पारेर कर्णाली प्रदेशमा महत्वपुर्ण स्थानहरुको फोटो प्रदर्शनी समेत गरिने जनाइएको छ । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार