पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला

  म्याग्दी न्युज संवाददाता

बुटवल । पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो।

जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुराना तोपका गोला फेला परेका हुन्। जेसिभीले जग खनिरहँदा गोलाहरू भेटिएकोबारे नेपाली सेनाले मुख्यालयमा जानकारी गराएको छ।

ठूलो संख्यामा गोलाहरू निकालेर बाहिर निकालिएको छ भने अझै पनि जमिनमुनि ठूलो संख्यामा गोलाहरू रहेका छन्। जग खनिएको स्थानमा जमिनमा माथिल्लो सतहमै गोलाहरू देखिएका छन्।

सिल्खान टोलमा नेपाली सेनाले अतिथि गृह निर्माणको लागि जग खनिरहेको थियो। गाडिएको अवस्थामा माटोका घैंटाजस्तै भेटिएका गोलाहरू कतिपय हातमा अट्ने आकारका छन् भने कतिपय ठूलो आकारका समेत रहेका छन्।

भिमसेन थापाको पालादेखि नै नेपाली सेनाले पाल्पाबाट इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनासँग युद्ध लड्दै आएको थियो। कर्णेल उजिर सिंह थापाको कमाण्डमा भएको दुई पटकको युद्धमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको थियो।

अहिले जमिनमुनि भेटिएका तोपका गोलाहरू सोही समयका हुन् वा अन्य समयका हुन् भन्ने विषयमा अझै यकिन हुन नसकेको नेपाली सेनाले जनाएको छ। पाल्पास्थित नेपाली सेनाले तोप गोला भेटिएको विषयमा मुख्यालयमा जानकारी गराई आफ्नो निगरानीमा सुरक्षित राखेको जनाएको छ। सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार