राष्ट्रिय ध्वजावाहकमा भाँचिएको सिटलाई बाँधेर उड्दै

करिब ५० हजारमा मर्मत हुने सिट नबन्दा निगमले गुमायो ९० लाख

काठमाडौँ । चरम व्यवस्थापकीय लापरबाहीका घटना सार्वजनिक भइरहेका बेला राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एउटा न्यारोबडी विमान भाँचिएको सिट राखेर दुई महिनादेखि उडिरहेको छ । अल्फा किलो एक्सरे (लुम्बिनी) जहाजको ११–एफ नम्बरको सिट यात्रु नै बस्न नमिल्ने गरी भाँचिएको छ ।

एक पाइलटका अनुसार त्यसमा कोही बसिहाले अर्को सिटको यात्रुलाई असर पुर्‍याउँछ । सिटको अवस्था देखेपछि तिहारताका एक यात्रुले क्याबिन क्रुलाई गुनासो गरेका थिए । त्यसपछि इन्जिनियरहरूले उक्त सिटलाई एल्मुनियम तारले बाँधेर छाडिदिएका छन् । दुई महिना बितिसक्दा पनि निगम व्यवस्थापनको ध्यान सिट मर्मततिर गएको छैन ।

‘झ्यालतिरको सिट भएकाले बीच ग्यालरीको सिटमा बसेका कतिपय यात्रु झुक्किएर त्यसमा बस्छन् । कतिपय तार बिझेर उठ्छन्,’ निगमकी एक एयरहोस्टेसले भनिन्, ‘कतिपयलाई नबस्नुहोस्, सिट बेल्ट बाँध्नै मिल्दैन भनी सम्झाएर उठाउनुपर्छ । जाबो एउटा सिट पनि सद्दे राख्न नसक्ने कस्तो एयरलाइन्स हो भनेर यात्रुहरू खिसिटियुरी गर्छन् ।’

आपत्कालीन झ्यालसँगैको यो सिट भाँचिएको बारे निगमको इन्जिनियरिङ विभागले गाईतिहारका दिन भेउ पाएको थियो । ‘तिहारअघि नै भाँचिएको रहेछ । प्राविधिकहरूले नियमित जाँच गर्नुपर्ने थियो, यात्रुले गुनासो गरेपछि क्याबिन क्रुमार्फत हामीले जानकारी पायौं,’ विमानस्थलमा रहेको इन्जिनियरिङ विभागका एक कर्मचारीले भने, ‘खरिद प्रक्रियाअनुसार सूचीकृतमध्येबाट सप्लायर छान्दा अर्डर पठाउँदा ढिलाइ भयो ।’

भाँचिएको सिटमा यात्रु राखेर जहाज उडाउन अन्तर्राष्ट्रिय र नेपालको कानुनले निषेध गरेको छ । तत्काल नफेरी नहुने पार्टपुर्जा आवश्यक पर्ने भए जहाज नै उडाउन मिल्दैन । तर, निगम भने बिग्रिएको सिट राखेर जहाज उडाइरहेको छ ।

एक निर्देशकका अनुसार निगमका आन्तरिक बैठकमा सिट मर्मतको कुरा उठ्ने गरे पनि बनाउन तत्परता देखाइँदैन । एउटा सिट खाली राखेर उड्दा निगमले दैनिक औसत डेढ लाख रुपैयाँको आम्दानी गुमाइरहेको एक अर्का अधिकारीले बताए । ‘न्यारोबडीले एक दिनमा तीनवटा रुटमा उडान गरिरहेको छ । तीनवटा रुटमा ओहोरदोहोर गर्दा ६ पटकमा दैनिक डेढ लाखका दरले दुई महिनामा ९० लाख बराबरको आम्दानी गुमायौं ।’

१ सय ५८ वटा सिट भएको निगमको न्यारोबडी विमानका लागि नेपालमा सिट तथा त्यससँग जोडिएका उपकरण बनाउन मिल्दैन । त्यही भएकाले निगमले सरकारी खरिद प्रक्रियाअनुसार सिट मर्मत गराउन समय लागेको कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । प्राविधिकका अनुसार उक्त सिटको आर्म रेस्ट, साफ्ट र ह्यान्डल गरी तीनवटा पार्ट झिकाइएको छ । कार्गोमार्फत आउने ती सामग्री अझै निगमको हात परेका छैनन् ।

‘नेपालमा पाइँदैन, इटालीबाट मगाएका छौं,’ इन्जिनियरिङ विभाग स्रोतले भन्यो, ‘सिट बनाउने इटालीको गिभन कम्पनीमै भाँचिएको सिटको फोटो पठाउँदा ४२ हजार रुपैयाँ लाग्ने देखियो । हामीले प्राप्त गर्नेबित्तिकै एकै दिनमा मर्मत गर्छौं ।’ कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार