‘मिडिया सोसाइटी अवार्ड’ पत्रकार गौतमलाई (तस्विरहरु)

  धनिलाल गर्बुजा

म्याग्दी । म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम ‘मिडिया सोसाइटी अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा बुधबार अन्नपूर्ण गाउँपालिका–४,स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित समारोहमा आठ हजार ८०० रुपैयाँ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल , संस्थाका अध्यक्ष कमल खत्री, संस्थापक अध्यक्ष गोपाल छन्त्याल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, अन्नपूर्ण–४,का वडा अध्यक्ष लोकबहादुर फगामीले गौतमलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव समेत रहनुभएका गौतम वि.स. २०६४ साउन देखि राससमा आवद्ध हुनुहुन्छ । वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिनुभयो ।

दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानिया र हरिकृष्ण गौतम पुरस्कृत भइसक्नुभएको छ । गाउँपालिका अध्यक्ष पुनले ग्रामिण क्षेत्रका समस्या र सम्भावना उजागर गर्दै विकास र शुसासनका मुद्दालाई प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो । स्थानीय पत्रकारको संरक्षण र सञ्चार माध्यमको सवलीकरणका लागि गाउँपालिका तयार रहेको अध्यक्ष पुनले बताउनुभयो । उहाँले गाउँपालिकाले पर्यटकीय क्षेत्रमा पुर्वाधार विस्तार र प्रवद्र्धन गर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्मा पौडेलले गाउँपालिकाको विकास ,पर्यटन प्रवद्र्धन लगायत क्षेत्रका प्रचारप्रसार गर्न संचार माध्यमको ठुलो भुमिका रहेको उल्लेख गर्नुभयो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष पौडेलले जिल्लामा पत्रकारिताको विकासका लागि स्थानीय सञ्चार माध्यमको सवलीकरण हुन आवश्यक रहेको बताउनुभयो । वडा अध्यक्ष फगामीले दश वटा भन्दा बढी जलविद्युत आयोजना निर्माण र निर्माणाधिन रहेको नारच्याङमा अन्नपूर्ण प्रथम हिमाल अवस्थित भएको विषयमा प्रचारप्रसारमा सघाउन आग्रह गर्नुभयो । संस्थापक अध्यक्ष छन्त्याल र अध्यक्ष खत्रीले श्रमजिवी पत्रकारको क्षमताको विकास र जिल्लामा सञ्चालित संचार माध्यमको सवलीकरण गर्ने उद्धेश्यले स्थापित संस्थाले सोही अनुसार काम गर्दै आएको बताउनुभयो । विकट ठाउँमा सञ्चार माध्यम सञ्चालन गर्नु चुनौतीको विषय भएको बताउँदै सञ्चार माध्यम र स्थानीय तह बिचको सहकार्यलाई थप प्रभावकार बनाउनुपर्नेमा जोड दिनुभयो ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ । साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुँदै नारच्याङ घोषणापत्र जारी गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार