जनता माविले विविध कार्यक्रम सहित ६३ औं वार्षिकोत्सव मनायो (फाेटाे फिचर)

  म्याग्दी न्युज संवाददाता

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविले विविध कार्यक्रम सहित ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा आइतबारदेखि बुधबार (माघ १–४) सम्म विविध खेलकुद र सांस्कृतिक लगायत कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । बुधबार विद्यालयको बार्षिकोत्सव समापन कार्यक्रममा पुर्व विव्यस अध्यक्ष ,पुर्व प्रअ ,पुर्व विद्यार्थी ,विद्यालयका जग्गादाता, पुर्व जनप्रतिनिधि,सहयोगदातालाई सम्मान, विविध खेलकुदतर्फ प्रतियोगितामा विजेता र उपविजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रमको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले उद्घाटन गर्नुभयो । उहाँले बार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै विद्यालयलाई यहाँसम्म ल्याउन सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्दै शिक्षा क्षेत्रको विकास र शिक्षामा परिवर्तन ल्याउन राज्य सहित सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । दुर्गम क्षेत्रमा रहेका विद्यालयमा दरबन्दी अभाव हुँदा स्थानीय बासीलाई आर्थिक स्रोत जुटाउन समस्या परेको बताउँनुभयो । विद्यालयको शैक्षिक गुणस्तर बृद्धी र भौतिक पुर्वाधार निर्माणका लागि आफुले सहयोग गर्ने उहाँले बताउनुभयो ।

२०१६ सालमा स्थापना भएको आधारभूत विद्यालय २०३४ मा निमावि र २०६९ सालमा मावि सञ्चालन भएपछि विद्यालयको पहिलो पटक ६३औं बार्षिक उत्सव मनाइएको विद्यालयका प्रअ गुन पुनले बताउनुभयो । उहाँले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।उहाँका अनुसार,विद्यालयको आयोजनामा अभिभावक महिला भलिबल, बेलुन फुुटाउने, एथलेटिक्स सम्बन्धी खेलहरु,अभिभावक पुरुष भलिबल, अन्ध निशान, म्युजिकल चियर लगायत खेलकुद प्रतियोगितामा विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरिएको छ ।

सोही कार्यक्रमको अवसरमा युके निवासी समाजसेवी नेत्रमान गर्बुजाले एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गर्नुभयो । उक्त अक्षयकोषमा बार्षिक आउने ब्याजबाट विद्यालयमा अध्ययनरत विपन्न परिवार तथा जेहेन्दर विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्ने जानकारी दिनुभयो । यसैगरी अष्ट्रेलियामा कार्यरत समाजसेवी भविन्द्र पुनले प्रदान गर्नुहुने दुई जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ छात्रवृत्ती वितरण गरिएको छ । उक्त छात्रवृत्ती कक्षा दशमा अध्ययनरत प्रवेश पुन र विपिना पाइजालाई प्रदान गरिएको छ । बार्षिकोत्सव कार्यक्रम संचालनका लागि दुई लाख एक सय ६० रुपैयाँ सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।

याे पनि‍‍‍‍…

जनता मावि दग्नामको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सुरु

विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष एकबहादुर गर्बुजा विगतको तुलनामा भौतिक तथा शैक्षिक गुणस्तरको प्रगती भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनी सकेको सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य आरती बिक,राजनितिक दलको तर्फबाट नेपाली कांग्रेस वडा इकाई सभापति कृष्ण गर्बुजा ,विद्यालयका पुर्व प्रअको तर्फबाट निलकण्ठ सुवेदी ,सहयोगदाता नेत्रमान पुन ,दग्नामदर्मिजा –बेनी–गलेश्वर समाजकी अध्यक्ष सरीता गर्बुजा लगायतले बोल्नुभएको थियो ।

विव्यस अध्यक्ष धनिलाल गर्बुजाले सहयोगीदातालाई धन्यवाद व्यक्त गर्दै पहिलेको तुलनामा अहिले शिक्षा क्षेत्रमा ठुलो परिवर्तन भएको बताउनुभयो । विद्यालयमा मावि तहकोे दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न स्थानीयबासीलाई आर्थिक भार पर्ने गरेको उहाँले बताउनुभयो । शिक्षा क्षेत्रको गुणस्तर बृृद्धी गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । विव्यस अध्यक्ष गर्बुजाको अध्यक्षता ,प्रअ पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा सहायक प्रअ खड्क गर्बुजाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा निवर्तमान गाउँपालिका उपाध्यक्ष कमला तिलिजा , वडा जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि, शिक्षक,अभिभावक लगायतको उपस्थिती रहेको थियो । कक्षा दश सम्म पढाई हुने विद्यालयमा एक सय ४४ जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार