राष्ट्रिय फुटबल टिमका मिडफिल्डर राई पनि अष्ट्रेलियातर्फ

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई पनि सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया जानुभएको छ । विदेशिनुभएका राई राष्ट्रिय टोलीका नियमित सदस्य हुनुहुन्छ । विशाललाई शुक्रबार बिहान मच्छिन्द्र क्लबका सहयात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।

‘फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई तिमीले दिएको योगदान सदैव अविस्मरणीय रहिरहनेछ । विशाल भाइलाई उज्ज्वल भविष्यको कामना । तिम्रो अष्ट्रेलिया बसाइ सुखद एवं फलदायक रहोस्,’मच्छिन्द्र क्लबका व्यवस्थापक अनिल श्रेष्ठले लेख्नुभएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर समेत हुनुहुन्छ । नयाँ सिजनको लिग नजिकिदै गर्दा भने उहाँ अष्ट्रेलिया लाग्नुभएको छ । नयाँ सिजनको‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।

मछिन्द्रले लगातार दुई पटक लिग जित्दा उहाँ टिमका मुख्य खेलाडी हुनुहुन्थ्यो । विशालले मनाङ मर्स्याङ्दी क्लबबाट समेत लिगको उपाधि जित्नुभएको थियो।विशालले नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट खेल्नुभएको हो। विशालले नेपालका लागि २८ खेलमा ३ गोल गर्नुभएको छ ।

पछिल्लो समय खेलाडी पलायन तिब्र भइरहेको छ। पछिल्लो दुई वर्षमा मात्र करिब दुई दर्जन राष्ट्रिय टोली र उमेर समूहमा मुलुकको प्रतिनिधित्व गरिसकेका खेलाडी अस्ट्रेलिया पुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ देखि ए डिभिजन फुटबल लिग आयोजना गर्ने तालिका सार्वजनिक गर्दैगर्दा राष्ट्रिय खेलाडीको डरलाग्दो पलायन देखिएको छ।अधिकांश राष्ट्रिय फुटबलहरू राष्ट्रको नेतृत्व गर्न छोडेर अस्ट्रेलियामा हुने टोलकपमा सपना बुन्दै पलायन हुन थालेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार