बालगृहमा सहयोग गरी लोकदिप सहकारीले मनायो १० औं स्थापना

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण तथा Global Money Week – 2023 मनाउने सन्दर्भमा एक दिवसीय युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम मनाइएको छ । बाल संगठनका सचिव सन्दिप खत्रीमार्फत बालगृहका बालबालिकालाई ७ हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको थियो ।

दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गदैं राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यको अनुहारमा खुसीको चमक खोज्नुपर्ने बताउनुभयो । सहकारी अभियान्ता जिसीले सहकारीका सदस्य खुसी वा पिडामा रहेको भन्ने खोज्न सक्ने सहकारी नै सबल र सक्षम हुने बताउनुभयो। ‘वित्तिय कारोबारसँगै समुदायमा आधारित कार्यक्रमलाई समेत प्राथमिकता दिनुहोला’सदस्य केन्द्रित कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्छ’जिसीले भन्नुभयो । वित्तिय साक्षरता कार्यक्रममा संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको छोराछोरीहरुलाई समेत बचत गर्न अभ्यस्त बनाउने उद्देश्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।

सोही कार्यक्रमको अवसरमा बाल बचत योजनामार्फत बालबालिकालाई बचत गर्ने बानीको विकास गराउन नियमित रुपमा मासिक बचतका लागि खुत्रुके हस्तान्तरण समेत गरिएको थियो । सहकार्यका अध्यक्ष हरिकृष्ण शर्मा गौतमको अध्यक्षता, उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागत र सचिव ओमप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । १ हजार ५३ जना सेयर सदस्य रहेको सहकारीमा १४ करोड निक्षेप, साढे १३ करोड कर्जा प्रवाह रहेको छ । खुत्रुके बचत, लखपति बचत, पेन्सन बचत, अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरु रहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बचत तथा ऋण कारोबारको आधारमा प्राप्त हुने संरक्षित पुँजी फिर्ता कोषको रकम वार्षिक साधारणसभाका अवसरमा नगदै वितरण गर्दै आइरहेको प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

लोकदिप सहकारीको निवन्द प्रतियोगितामा प्रकाश माविकी गृष्मा जिसी प्रथम
म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्रकाश माविकी छात्रा गृष्मा जिसी प्रथम भएकी छन् । संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा लिटल गार्डेन एकेडेमीकी विदिशा सुवेदी द्धितिय,पर्वत बेनीको न्यू होराइजन आवासीय पर्वतकी स्मृती जिसी तृतिय भएकी छन् । त्यसैगरी धौलागिरी मावि सिंगाकी सिता गुरुङ र बेनी सामुदायिक विद्यालयकी सजिना शर्माले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।

प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमश ५ हजार,३ हजार, २ हजार र १ हजार नगद, प्रमाणपत्रका साथै सहकारीले सञ्चालन गरेको खुत्रुके बचतका लागि खुत्रुके प्रदान गरीएको थियो । विजेतालाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसी, अध्यक्ष हरिकृष्ण शर्मा गौतम, उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ, सचिव ओमप्रसाद शर्मा, कोषाध्यक्ष देबेन्द्र पौडेलले पुरस्कार वितरण गरेका थिए । उच्च शिक्षा अध्ययनको लागि बाल बचतको महत्व, समाज रुपान्तरणमा सहकारी, ‘वर्तमानको बचत भविष्यको आधार’ शिर्षकमा निबन्ध लेखन प्रतियोगितामा म्याग्दीका सात र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट एक गरी आठ विद्यालयको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रमको अवसरमा बाल बचत तथा सहकारीमार्फत शिक्षामा गर्न सकिने सहयोगका बारेमा समेत सचेतामुलक कार्यक्रम गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार