बागलुङ–बेनी सडक १० गतेसम्म बन्द

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । बेनी–बागलुङ सडक ५ दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ ,रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि बुधबारदेखि यही वैशाख १० गतेसम्म सडक पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएकाे छ ।

सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित बनेपछि आवतजावत रोकेर कालोपत्र सुरु गरिएको सहायक  प्रमुख जिल्ला अधिकारी धिरेन्द्र राज पन्तले जानकारी दिनुभयाे । यो सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एन्ड सायर बिएन जेभीसँग रु १३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

२०७५ मा प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण  २०७६ मा सक्ने लक्ष्य थियो । ९२ प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम तीन वर्षपछि सञ्चालन भएको हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले सडकमा कालोपत्रका लागि बेस बिछ्याएर सम्याउने र लोडरले पेल्ने काम सकिएको बताउनुभयो ।

उहाँले पहिराले क्षति गरेपछि गर्नुपर्ने अतिरिक्त कामको भेरिएसन अर्डर (भिओ) स्वीकृत भएपछि यसपालि कालोपत्र गर्ने कामलाई पूर्ण दिन लागिएको भन्नुभयो । निर्माण नसकिँदै पहिलो चरणमा भएको कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको थियो । पहिलो पन्छाउने, नाली सफा र खाल्डाखुल्डी पुरेर कालोपत्रका लागि तयारी बनाइएको छ ।

बेनी—मालढुङ्गा सडक स्तरोन्नतिको चरणमा रहेको हुँदा म्याग्दी र मुस्ताङबाट पोखरा आवतजावत गर्ने सवारी साधनले बेनी–बागलुङ वैकल्पिक सडक प्रयोग गर्दै आएका छन् । सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले लामो प्रयासपछि रत्नेचौर–बेनी सडकले कालोपत्र हुन लागेको बताउनुभयो । बागलुङदेखि बेनीसम्मको करिब १७ किलोमिटर सडक रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार