व्यवसायी बोगटी मृत्यु प्रकरण : छिमेकी पूर्पक्षका लागि जेल चलान

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–१, थाङ्ने (आनन्दबगर) घर भएका ४० वर्षीय व्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकीरसाथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसी पूर्पक्षका लागि जेल चलान भएका छन् ।कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसी पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान भएका हुन् ।

‘मुद्दामा पेस भएका अनुसन्धान रिपोर्टसमेतका तथ्यको आधारमा आरोपितलाई तारेखमा छोडी मुद्दाको अनुसन्धान गर्न मिल्ने देखिएन । पूर्पक्षमा राखी अनुसन्धान गर्न आदेश गरेका छौँ,’ न्यायाधीश कृष्णप्रसाद नेपालले बताए ।चैत ३० गते बिहान बेनी–बाग्लुङ सडकअन्तर्गत खबराको हुलाके डाँडास्थित भिरमा बोगटी मृत अवस्थामा फेला परेका थिए । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

थाङ्ने (आनन्दबगर) स्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा स्थानीय खेल मैदान निर्माण समितिका पदाधिकारी रहेका बोगटी र घर्ती चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए ।त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राति ९ बजे फर्केका बोगटी र घर्ती मध्य राति १२ बजे बेनीमा घर्ती एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो ।‘व्यवसायी बोगटी बिहीबार बिहान मृत अवस्थामा फेला परेपछि घटनाको शंकास्पद देखियो । मृतकका आफन्तले पनि किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु गरियो ।

प्रारम्भिक अनुसन्धान क्रममा घटना कर्तव्यबाट भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरले भने, ‘रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनीको नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेज हेर्दा बोगटी मृत्यु प्रकरण शंकास्पद रहेको हो ।’कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार