गलेश्वरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

  धनिलाल गर्बुजा

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा विविध कार्यक्रमको आयोजना गरि लागुऔषध दुरुपयोग तथा अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । सोमबार गलेश्वर स्थायी प्रहरी कर्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा स्थानीयबासी र गलेश्वोर आदर्श आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग जनचेतना तथा अन्तरक्रिया कार्यक्रम गरी  दिवस मनाएको हो ।

 

समुदायलाई लागु औषधबाट मुक्त राख्ने लक्ष्यका साथ हरेक वर्षको जुन २६ तारिखलाई अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउदै आइरहको गलेश्वरधाम आमासमूहकी उपाध्यक्ष विन्दु कार्की पुर्जाले बताउनुभयो ।

सचेतना कार्यक्रमको सहजिकारण गर्दै गलेश्वर स्थायी प्रहरी कार्यालयका असई विक्रम तिवारीले लागु औषध कारोबारले अपराध र अराजकता निम्त्याउनुको साथै एचआइभी, हेपाटाइटिस लगायतका विभिन्न रोगहरू पनि यस कारणले सर्न सक्ने सम्भावना रहेको बताउनु भयो । लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, र दुरुपयोगलाई समयमै रोकथाम र नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समाज र अविभावकसँग समन्वय गरी संगठित रुपमा हातेमालो गर्न आवश्यक रहेको तिवारीको भनाई रहेको थियो ।

कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुन, आमा समुहकी सल्लाकार रविना भण्डारी र समुहकी अध्यक्ष फुलकुमारी रोका लगायतले लागु औषध बालबालिका र किशोरकिशोरीहरुले प्रयोग गर्ने क्रम वढेकाले यसलाई रोक्न स्कूल, कलेज बिभिन्न गाउँ टोलस्तरमा मा जनचेतना मुलक कार्यक्रमहरुलाई वढाउनु पर्नेमा जोड दिनु भयो । समाजलाई सहि दिशा तर्फ लान र लागुऔषध मुक्त बनाउन समाजको पनि उतिनै महत्वपुर्ण हात रहेको चर्चा गरे ।

लागु औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार मान्छे मर्ने गरेको विश्व लागूऔषध प्रतिवेदनले जनाएको छ । कार्यक्रममा गलेश्वर बाजारबासी, क्लव, इकाई प्रहरी कार्यलय गलेश्वर, शसस्त्र प्रहरी गुल्म, आमा समुह,  समाजसेवी, बुद्धिजीवी, बिधार्थी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार