पहिरोले दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह पहिरोले बगाएको छ । बुधबार राती परेको वर्षाका कारण ४२ किलोवाट क्षमताको लघु जलविद्युत् परियोजनाको विद्युत् गृहको भवन र उपकरणहरू पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ ।

मरेनीस्थित विद्युत् गृहभन्दा माथिको पाखोबाट बिहीबार बिहान १० बजेको समयमा खसेको पहिरोले विद्युत् गृहको भवन र विद्युतका उपकरणहरू पहिरोसँगै दरखोलामा मिसिएको वडाध्यक्ष अकप्रसाद विकले बताउनुभयो । वडाध्यक्ष विकले भन्नुभयो, ‘‘विद्युत गृहको भवन र उपकरण सबै पहिरोले दरखोलामा मिसाएको छ । एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालेका थियौँ । फेरि पहिरोले परियोजनामा ठुला क्षति पु¥यायो । गाउँमा बिजुली आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।’’

दुई वर्षअघि पनि परियोजनाको नहर, बाँध र विद्युत् गृह बाढीले बगाएको थियो । एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालेका थियौँ वडा सदस्य फूलमाया बुढाथोकीले भन्नुभयो, “अहिले फेरि पहिरोले विद्युत् गृह बगाएपछि गाउँमा बिजुली आपूर्ति बन्द भएको छ ।“परियोजना पुनर्निर्माण गर्न तत्कालीन समयमा गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख गरी २२ लाख रुपियाँमा परियोजना पुनर्निर्माण गरिएको थियो । २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र ८५ लाख ९७ हजार, जन श्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एक करोड ७४ लाख रुपियाँ लागतमा परियोजना निर्माण गरिएको थियो ।

परियोजनाको विद्युत गृहमा क्षति पुगेपछि लुलाङ, खोरिया, मेरनी र लमसुङका तीन सय ७० घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित हुने वडा अध्यक्ष विकले बताउनुभयो । केन्द्रीय विद्युत लाइन नपुगेको लुलाङमा लघु जलविद्युत परियोजनाबाट उत्पादित बिजुली उपभोग गर्दै आएका छन् । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो ।gorkhapatraonline

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार