म्याग्दीमा एक वर्षमा २९ हजार बढी पर्यटक

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा एक वर्षको अवधिमा २९ हजार बढी पर्यटकले भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा २९ हजार ३२८ जना पर्यटकहरुले म्याग्दी भ्रमण गरेका हुन् । आर्थिक वर्ष २०७८÷०७९ मा सात हजार नौ सय २६ जनाले भ्रमण गरेका थिए ।

गत आर्थिक वर्षमा म्याग्दी भित्रिने पर्यटकको सङ्ख्या २२ हजार २१ र बाहिरिनेको संख्या सात हजार तीन सय सात जना रहेको छ । जिल्लाको उत्तरी भूरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका हुँदै पर्यटकहरु जिल्ला भित्रिने गरेका छन् । प्रहरीको तथ्याङ्क अनुसार ८० प्रतिशतभन्दा भढी पर्यटक जिल्लाको अन्नपूर्ण गाउँपालिका–६, स्थित घोडेपानी, पुनहिल क्षेत्र घुम्ने गरेका छन् । गतवर्ष बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका र भारतबाट धेरै पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । यसैगरी स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताईवानबाट कम पर्यटक म्याग्दी आएका छन् । जिल्लास्थित विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको स्वदेशी तथा विदेशी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेका हुन् ।

दर्जनौँ हिमाल, मनोरम भू–बनोट, कला, संस्कृति र ऐतिहासिक स्थलहरु रहेको म्याग्दी अथाह सम्भावना बोकेको जिल्ला हो । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) अवस्थित म्याग्दीमा अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनौं हिमशृङ्खला रहेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसँगै अग्ला झरना, तालतलैया, धार्मिक र ऐतिहासिक सम्पदाहरुसमेत छन् ।
यहाँ भ्रमण गर्न आउने पर्यटकले लामो यात्रामा राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला पदमार्ग, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरिलगायतका पदमार्गको भम्रण गर्न सक्छन् । यद्यपि पर्यटन पूर्वाधारको विकासको अभाव र प्रचारप्रसारको कमीका कारण यस्ता महत्वपूर्ण आकर्षणहरूको प्रवर्द्धन अपेक्षितरुपमा हुन सकेको छैन। पर्यटकको बसाइ छोटो भयो र प्रतिपर्यटक प्रतिदिन खर्च पनि ज्यादै कम भयो भनेर गुनासो गर्दै आएको देखिन्छ ।

सबैभन्दा बढी २०७९ कात्तिकमा पाँच हजार छ सय २०, बैशाखमा पाँच हजार दुई सय २२, चैतमा चार हजार सात सय ९४, मंसिरमा ३०२९, असोजमा २४८५ जना पर्यटकले भ्रमण गरेका छन् । साउनमा छ सय ५२, भदौमा ९८९, पुसमा १७१४, माघमा ९६१, फागुनमा १७२३, जेठमा एक हजार छ सय ४९ र असारमा चार सय ९० पर्यटकले म्याग्दी भ्रमण गरेको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले कोभिड–१९ पछि गत आर्थिक वर्षमा पर्यटकको सङ्ख्यामा बृद्धी भए पनि अपेक्षाकृत नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कोभिड पछिका तीन वर्षसम्म होटल बन्द गरेर बस्नु परेको थियो, गत आर्थिक वर्षमा भने पर्यटकको सङ्ख्यामा वृद्धि भयो ।’’ पथपर्दशक बिना पदयात्रामा जान नपाउने नियमका कारण कम आयस्रोत भएका र एक्लै घुम्न चाहने पर्यटक नआएको उहाँको भनाइ छ । पर्यटकीयस्थललाई लक्षित गरी विस्तार गरिएका पदमार्ग मोटरबाटोले मासिँदा विदेशी पर्यटकले नेपालमा खर्च गर्ने पैसा बचत गरी अन्य देशमा खर्च गर्ने गरेको पर्यटन ब्यवसायीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार