नेपाल दश वर्षपछि टि-२० विश्वकपमा

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । नेपाल आइसिसी टि२० विश्वकपमा पुगेको छ । शुक्रबार भएको एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल दश वर्षपछि विश्वकपमा पुगेको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहनुभयो । नेपालका आसिफ शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहनुभयो।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । स्पिनर निलांश केस्वानीको बलमा ठूलो सर्ट खेलेका कुशल भुर्तेल लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट हुनुभयो । भुर्तेलले ८ बलमा २ चौका हान्नुभएको थियो।दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गर्नुभएको थियो । बासिल हामिदले दशौं ओभरको तेस्रो बलमा गुलशनलाई २२ रनमा बोल्ड आउट गर्नुभयो। गुलशनले २४ बलमा ३ चौका प्रहार गर्नुभयो। युएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिनुभयो ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । त्यो जितको लागि पर्याप्त थिएन । युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीलाई जिताउन सक्नुभएन । अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चौथो ओभरको पहिलो बलमा खालिद शाह ३ रनमा रन आउट हुनुभयो । तीव्र गतिका बलर सोमपाल कामीको बलमा ननस्ट्राइकबाट दौडनेक्रममा उहाँ आउट हुनुभएको थियो। सोमपालले नै रन आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाउनुभएको थियो ।

सोमपालको चौथो ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका वासिम डिप मिडविकेटमा करण केसीबाट क्याच आउट हुनुभयो । वासिमले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रनको आक्रामक इनिङ खेल्नुभएको थियो । त्यो विकेट नै खेलको टर्निङ प्वाइन्ट बनेको थियो ।

सन्दीपले १० औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गर्नुभयो । कुशल मल्लको १४ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट हुनुभयो । शराफुले १४ बल खेल्दा ३ चौका हान्नुभएको थियो ।

कप्तान रोहित पौडेलको १६ औं ओभरको पाँचौं बलमा अली नासिर लङअफमा कुशल भुर्तेलबाट ४ रनमा क्याच आउट हुनुभयो । एलिशान शराफु १६, आसिफ खान १३, अली नासिर ४, बासिल हामिद र आयन खान १–१ रनमा आउट हुनुभयो। नेपालका कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिनुभयो । सन्दीप लामिछानले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिनुभयो । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिनुभयो ।

सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिनुभयो । नेपालले अव उपाधिको लागि फाइनलमा आइतबार ओमानसँग खेल्नेछ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । नेपालले २०१४ पछि टि२० विश्वकपमा पहिलो पटक स्थान बनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार