बालमन्दिर माविमा तीन लाखको अक्षयकोष स्थापना

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका-८,स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी सुमित्रा शेरचनले जोशी १ लाख १ हजार रुपैयाँको कोष स्थापना गर्नुभएको हो ।

बुधबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता तुलाचन, गौचन र शेरचनले नगद रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर चर्माकार, प्रअ सुरेन्द्रराज केसीलाई हस्तान्तरण गनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ९ का अध्यक्ष चक्रबहादुर केसी लगायतको उपस्थिीत रहेको थियो ।

अक्षय कोष स्थापना कार्यक्रमका प्रमुख अतिथि मेयर केसीले विपन्न विद्यार्थीले पठनपाठन गर्ने विद्यालयमा सरकारी स्रोतबाट मात्रै अपुग हुने भएकाले विभिन्न सहयोग संकलन गरी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

सहयोगदाता एवम् विद्यालयकी पूर्व प्रअ साधना तुलाचनले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनालाई विद्यालयले विभिन्न माध्यमबाट सहयोग जुटाएर विद्यार्थीलाई सहयोग गर्ने गरेको छ ।

बालमन्दिरमा अधिकांस निम्न आर्थिक अवस्था भएका, विभिन्न जिल्लाबाट मजदुरी गर्न आएका, अभिभावकविहिन बालबालिकाहरु पठनपाठन गर्छन् । अक्षय कोष स्थापना कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष चर्माकार, स्वागत प्रअ केसी र सञ्चालन सहायक प्रअ गिता सुबेदीले गर्नुभएको थियो । बालविकासदेखि कक्षा ९ सम्म पठनपाठन हुने विद्यालयमा साढे २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार