पत्रकार धिरन खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुरस्कृत

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ ।म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४,सिंगामा आयोजित समारोहमा नौ हजार ६८९ रुपैयाँ नगद सहित खत्रीलाई पुरस्कृत गरिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बेनपा–४ का वडा अध्यक्ष अणबहादुर खड्का, सोसाइटीका अध्यक्ष कमल खत्री र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले खत्रीलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो ।खत्री बेनीबाट प्रकाशन हुने सम्बृद्ध साप्ताहिक, कोरला पोष्ट डटकम, म्याग्दी अनलाईन, कारोबार दैनिक, रेडियो नेपाल र एभिन्युज टेलिभिजनमा आवद्ध हुनुहुन्छ । वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिनुभयो ।

दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानिया, हरिकृष्ण गौतम, सन्तोष गौतम सम्मानित भइसक्नुभएको छ ।कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले गण्डकी प्रदेश सरकारले ल्याएको पत्रकारको स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि सरकारलाई दवाव दिने बताउनुभयो । उहाँले स्थानीय पत्रकार र सञ्चार माध्यमको संरक्षणमा नीतिगत व्यवस्था गर्न पहल गर्ने बताउनुभयो ।

बेनी नगरपालिका–४,का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले स्थानीय स्रोत साधनको पहिचान र त्यसलाई प्रर्वद्धनका लागि सञ्चार माध्यमहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, संस्थापक अध्यक्ष घनश्याम खड्काले मिडिया उद्योग धरासायी हुदै जाँदा पत्रकार पलायन हुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।साधारणसभाले सचिव अमित बिश्वकर्माको प्रगति र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार