बेनी अस्पतालको सामाजिक परीक्षण : अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । बेनी अस्पताल म्याग्दीको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मङ्गलवार अस्पतालमा आयोजित बेनी अस्पतालको आर्थिक वर्ष २०७९÷०८० को सामाजिक परीक्षण प्रस्तुतीकरण कार्यक्रममा बोल्ने सरोकारवालाले अस्पतालको सेवाप्रवाह थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । बेनी अस्पतालको आयोजना र मिलन म्याग्दीबाट सामाजिक परीक्षण प्राविधिक सहयोगमा भएको सामाजिक परीक्षण प्रस्तुतीकरण कार्यक्रमका सहभागी सरोकारवालाहरुले अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरी उपलब्ध स्रोतसाधनको प्रयोगमा प्रभावकारी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिए । उनीहरुले अस्पतालको सेवा विस्तार कार्यक्रम प्रभावकारी भएकाले अन्य सेवासुविधालाई पनि व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनी अस्पतालको निर्माणाधीन भवनमा सबैले चासो दिएर सम्पन्न गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणाधीन अस्पतालको भवन निर्माण गर्नको लागि अस्पताल व्यवस्थापन समितिले पहल गर्नुपर्ने बताउँदै सेवा लिन आउने आम सर्वसाधारणलाई मैत्रीपूर्ण व्यवहार गरेर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन र आवश्यक सहयोगका लागि जिल्ला समन्वय समितिबाट पहल गर्ने उहाँको भनाइ छ ।


म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बेनी अस्पतालमा उपचारपश्चात् निको भएर सामान्य अवस्थामा फर्किएर विभिन्न क्षेत्रमा क्रियाशील भएका बिरामी तथा सर्वसाधारणहरुलाई फ्लोअफ गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालमा कार्यरत कर्मचारीहरुलाई सहज तरिकाले काम गर्ने वातावरण व्यवस्थापन समितिले बनाउनुपर्ने बताउँदै सरोकारवाला निकायले अस्पताल र स्वास्थ्यकर्मीलाई लक्षित गरेर उत्प्रेरणामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।


बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बेनी अस्पतालमा आवश्यक पर्ने सहयोगका लागि वडा कार्यालयको तर्फदेखि आवश्यक समन्वय र सहकार्य गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको समापन गर्दै बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्थानीय तहहरुले बजेट छुट्याएर अस्पतालमा थप जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले अस्पतालको निर्माणाधीन ५० शैयाको भवन निर्माणलाई पूर्णता दिनको लागि व्यवस्थापन समितिको तर्फदेखि आवश्यक पहल र ताकेता गरिएको बताउँदै अब नयाँ व्यवस्थापनसहित छिटै क्यान्टिन सञ्चालन हुने बताउनुभयो । अस्पतालको सेवा विस्तार कार्यक्रम प्रभावकारी बन्दै गैरहेकाले सबैले प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ ।


कार्यक्रमका सहभागीहरुले अस्पतालको सेवाप्रवाहलाई छिटोछरितो बनाउनुपर्ने, सामाजिक परीक्षणको क्रममा देखिएका सवालहरुको सम्बन्धित निकायले समाधान गर्नुपर्ने, गरिब तथा विपन्न समुदायको उपचारमा सहुलियत दिनुपर्ने, दुर्घटनालगायत आपत्कालीन अवस्थामा प्राथमिकताका साथ उपचार गर्नुपर्ने, अस्पतालको निर्माणाधीन भवनलाई छिटो सक्न पहल गर्नुपर्ने, दरबन्दीअनुसार जनशक्तिको व्यवस्थापनमा ध्यान दिनुपर्ने, अस्पतालको सेवा नागरिकमैत्री बनाउनुपर्ने, स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने र कर्मचारी तथा स्वास्थ्यकर्मीलाई क्षमता वृद्धिसहित उत्प्रेरणामूलक तालिम, गोष्ठीहरु सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा दीपक पौडेल, नारायणप्रसाद सुवेदी, प्रकाश पौडेल, गौरी थापा, रमेश थापाले सुझावसहित आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट एवं स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर अन्जु थापा र मिलन म्याग्दीका कार्यसमिति सदस्य एवं सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुतकर्ता बालकुमारी पुनले स्पष्ट पार्नुभएको थियो । बेनी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अनुसा मानन्धरले स्वागत गर्नुभएको कार्यक्रम मिलन म्याग्दीका सामाजिक सुपरिवेक्षक छवि पूर्जाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार