बेनीकाे पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा(तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी।म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८, कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।  बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा २०७५ मा स्थापना गरेको पर्यटक सूचना केन्द्र कोरोना भाइरस र आन्तरिक व्यवस्थापनका कारणले बन्द अवस्थामा रहेको थियो ।

हिमालपारीको जिल्ला मुस्ताङ प्रवेशद्वारका रूपमा रहेको म्याग्दीको कालिपुलमा रहेको केन्द्रको नयाँ वर्ष २०८१ सालको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा पुनः औपचारीक रुपमा सञ्चालनमा ल्याइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले बताउनुभयो ।म्याग्दीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई म्याग्दी जिल्लाका पर्यटकीय, धार्मिकस्थलका बारेमा जानकारी दिने, पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलनका साथै म्याग्दीको अर्गानिक उत्पादनको बिक्री वितरणका लागि केन्द्रको सञ्चालन गरिएको उहाँको भनाइ छ ।

सूचना केन्द्रमा म्याग्दी भित्रका सबै प्रकारको सूचनाहरू उपलब्ध गराइने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । हामीले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएका छौँ । जिल्लाका चर्चित पर्यटकीय तथा धार्मिकस्थल बाहेक सम्भावना भएका क्षेत्र, होमस्टे, होटलको विवरण तथा पर्यटकीय स्थलहरूमा जाने पर्यटकलाई सूचना, स्थानीय तहसँग समेत समन्वय गरी काम गर्ने उहाँले बताउनुभयो ।

म्याग्दीका पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी हासिल गर्न पर्यटन सूचना केन्द्रले प्रभावकारी काम गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।जिल्ला ट्राफिक कार्यालय नजिक रहेको पर्यटन सूचना केन्द्रमा म्याग्दीका स्थानीय तहको सेक्सन बनाएर पर्यटकीय स्थलको फ्रेमसहित फोटाहरू,५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन, पर्यटकीय क्षेत्रको म्याप, गाइड बुक र ब्रोसर राखिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा पर्यटन सूचना केन्द्रका संयोजक राजेश शाक्यले जानकारी दिनुभयो । यस अघि उक्त सूचना केन्द्रको तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ वैशाख ३१ गते उद्घाटन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार