
म्याग्दी । उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा(खम्बीर) ले बृहत चिमखोला- राखु- पिप्ले- भगवती खानेपानी आयोजनालाई पूर्णता दिन सरकारले प्राथमिकता दिने बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा विहिवार आयोजित निःशुल्क आँखा उपचार शिविरको उद्घाटन गर्दै राज्यमन्त्री गर्बुजाले राखु पिप्ले, भगवती क्षेत्रमा खानेपानीको समस्या प्रमुख रहेकाले यसको लागि आफुले उचित बजेटका लागि पहल गरेको बताउनुभयो ।
चालु आर्थिक बर्षमा ५० लाख रुपैयाँको बजेट विनियोजन भएको यस आयोजनमा बहुबर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयमले १० करोड रुपैयाँको स्रोत सुनिश्चिता गरेको थियो । आयोजना सम्पन्न गर्न थप बजेट आबश्यक पर्ने भएकाले आगामी बर्षको लागि प्रयाप्त बजेट व्यवस्थापनमा आफु जुटेको राज्यमन्त्री गर्बुजाले बताउनुभयो ।
स्वास्थ्यको दृष्टिकोणमा शुद्ध खानेपानी अत्यावश्यक रहेको बताउँदै उहाँले आँखा उपचार शिविर राखेर जनतालाई उज्यालो देखाउने काम गर्दै रघुगंगाले आफ्नो उत्तरदायित्व बहन गरेको बताउनुभयो । जिल्लाको विकासका लागि आगामी बर्षको बजेटमा ठूला र गौरबका योजनालाई उचित बजेट व्यवस्थापनको लागि विभिन्न मन्त्रालयहरुमा पहल र समन्वय भैरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले विकासमा सबै तहका सरकारबिचको सहकार्यले जनताको आसा र अपेक्षा सम्बोधन गर्न सक्नेमा जोड दिनुभयो । नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’लाई साे अवसरमा रघुगंगा गाउँपालिकाले बाजागाजा सहित भव्य स्वागत ,बधाई सहित सम्मान गरेको छ ।यसैबीच नेपाली कांग्रेस रघुगंगा गाउँपालिका कार्यसमिति ,स्थानीयबासी लगायतले सम्मान गरेका छन् ।
राज्यमन्त्री गर्बुजालाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ,प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी,गाउँपालिका-६,का वडा अध्यक्ष ,गाउँपालिका प्रवक्ता एवं कांग्रेस रघुगंगा सभापति मनकुमार शेरपुजा लगायतले स्वागत तथा सम्मान गर्नुभएको थियो । साेही अवसरमा पालिकाको विकासमा योगदान दिएकोमा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीलाई गाउँपालिकाले सम्मान समेत गरेको छ । गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालित शिविरमा मोतियाबिन्दु भएका विरामीको निशुल्क सल्यक्रिया सहितको उपचार सेवा प्रदान गरिएको छ ।