रघुगंगामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु

  म्याग्दी न्युज संवाददाता

मौवाफाँट। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुई दिने आँखा मोतियाविदुको नि: शुल्क शल्यक्रिया शिविर सुरु भएको छ । गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा मौवाफाँटमा सुरु भएको उक्त शिविरको विहिबार उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । राज्यमन्त्री गर्बुजाले आर्थिक अभावका कारण अस्पताल जान नसकेका दुर्गम गाउँका आँखा रोगी विरामीको उपचारमा शिविरले सहयोग पुग्ने बताउनुभयो । आफ्नो पहलमा गाउँपालिका भित्र खानेपानी ,सिंचाइ ,सडक लगायत विभिन्न विकास पुर्वाधार निर्माणको लागि एक अर्ब बढीका ओजना संचालनमा रहेका जानकारी गराउँदै सबै आयोजनालाई समयमै सम्पन्न गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आर्थिक अभावका कारण उपचारबाट बञ्चित विरामीको उपचारका लागि शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार,गाउँपालिकाले यसअघि विभिन्न बस्तीमा संचालन गरेको निःशुल्क शिविरबाट आँखाको परिक्षण गर्दा पहिचान भएका मोतियाविन्दु भएका विरामी र विहिबारदेखि संचालित शिविरमा परिक्षणबाट पहिचान भएका मोतियाविन्दु विरामीको निःशुल्क उपचार गरिनेछ ।

गाउँपालिकाका दर्मिजा,भगवती ,पिप्ले ,घ्यासिखर्क लगायत बस्तीमा पुगेर परिक्षण गर्दा मोतियाविन्दु पहिचान भएको र मोतियोविन्दुको निःशुल्क शल्यक्रिया गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । शुक्रबारसम्म संचालन हुने शिविरमा करिब दुई सय जना मोतियाविन्दुको निःशुल्क उपचार संगै आवश्क औषधि र चस्मा वितरण गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जैसवालले जानकारी दिनुभयो । यसैगरी सोही अवसरमा राज्यमन्त्री गर्बुजालाई गाउँपालिका ,कांग्रेस गाउँपालिका कार्यसमिति लगायतले बधाई सहित सम्मान गरेका थिए । शिविरमा तिलगंगा आँखा अस्पतालकी वरिष्ठ नेत्र विशेषज्ञ डा इन्दिरा पौडेल लगायतको टिमले सेवा दिनुभएको छ । यसैगरी गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार