ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ ।
यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३० र मृतकको सङ्ख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, “स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्याङ्कमा केही फरक देखिएको छ । ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्याङ्क पाइएको हुँदा कूल सङ्क्रमितको सङ्ख्यामा केही फरक देखिएको हो ।” त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले जानकारी दिए ।
ललितपुर महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ९८८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८, सक्रिय सङ्क्रमित ८७९ र मृतक २१ रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । उनले भने, “सक्रिय सङ्क्रमितमध्ये ८१२ होम आइसोलेसनमा र ६७ जना अस्पताल रहेका छन् ।”
गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या २०३ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या १३२, होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा छ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ । महालक्ष्मी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ४०८ पुगेको छ ।
तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या २३५ र मृतक दुई रहेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, “सक्रिय सङ्क्रमित १७१ मध्ये २२ अस्पताल र १४९ होम आइसोलेसनमा रहेका छन् ।” त्यस्तै महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १२ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेका छन् भने एक जना अस्पताल र चार जना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।
कोञ्ज्योसोम गाउँपालिकामा पनि कूल सङ्क्रमित सङ्ख्या १२ पुगेको छ । तीमध्ये चार सक्रिय र बाँकी आठ जना कोरोना निको भई डिस्चार्ज भइसकेको संयोजक नवलकिशोर महतोले बताए । वाग्मती गाउँपालिकामा कूल १२ सङ्क्रमितमध्ये होम क्वारेन्टिनमा पाँच र कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेको संयोजक नवराज तिमिल्सिनाले बताए ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बीएण्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन् । ललितपुरमा २२१ आइसोलेसन र ४०८ क्वारेन्टिन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी गराए ।रासस/रातोपाटी