राप्रपा म्याग्दीको पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रम

बेनी आइतबार चैत्र १७ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारासहित पत्रकार भेटघाट र पार्टीका कार्यकर्ताहरुसँग अन्तत्र्रिmया गरिएको हो ।

पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री तथा राप्रपाका मनोनित केन्द्रीय उपाध्यक्ष भीमप्रसाद गौचनले सङ्घीयताले जनतामा आर्थिक भार बढाएको बतावउनुभयो । उहाँले देशमा महङ्गी तथा भ्रष्टाचार बढेको, शान्तिसुरक्षा नभएको र बाह्य हस्तक्षेप बढेकाले राप्रपाले आन्दोलनको थालनी गरेको बताउँदै दुई तिहाइको सरकार आएपछि तराई छुट्टै देशका रुपमा उदाएको जस्ता आवाज सुनिएको बताउनुभएको छ ।

उहाँले नेपाल पनि सिक्कीमीकरणमा जान लागेको बताउँदै कुनै पनि देशलाई विभाजनमा लैजानुपूर्व त्यहाँ धर्म नष्ट गराउने र राष्ट्रियता कमजोर बनाउने खेल हुने भन्दै नेपालमा धर्मनिरपेक्षता र हिन्दुराष्ट्रका विषयमा जनमत सङ्ग्रह हुनुपर्ने माग गर्नुभयो । उहाँले सबै धर्मप्रति समान धारणा रहेको भन्दै कुनै पनि प्रलोभनमा पारेर धर्म नै परिवर्तन गराउने खेल राप्रपालाई मान्य नहुने चेतावनी दिनुभयो । सरकारले सिके राउतसँग गरेको सहमतिलाई सतर्कतापूर्वक समर्थन गरिएको बताउँदै विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउनु गलत भएको उहाँले आरोप लगाउनुभयो ।

उपाध्यक्ष गौचनले विप्लवमाथि प्रतिबन्ध लगाउनुभन्दा पनि राजनीतिक तवरबाटै समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले देशभित्रै विनियोजन भएको बजेटको पूर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको अवस्थामा हालै सकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन ‘नाटक’ भएको टिप्पणी गनुभयो । स्थानीय सरकारको गतिविधि र कामकार्वाही अत्यन्तै फितलो भएको हुँदा त्यसमाथि अब राप्रपाले दह्रो प्रतिपक्षको भूमिका प्रदर्शन गर्ने उहाँको भनाई छ ।

गएको फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले १५ गते पूर्वको तेह्रथुमबाट हिन्दु जनजागरण तथा मेची–महाकाली स्वाभिमान यात्रा सुरु गरेको थियो । यसैगरी चैत १ गते काठमाडौंमा पहिलो चरणको कार्यक्रमको समापन, १२ देखि १६ सम्म २२ बुँदे कार्यक्रमको प्रचारप्रसार, चैत १७ गतेदेखि २३ गतेसम्म हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि हस्ताक्षर सङ्कलन, २८ गते स्थानीय तहमा धर्ना, बैशाख ५ गते धर्मनिरपेक्षता लेखिएका व्यानर तथा प्लेकार्ड जलाउने र ८ गते राजमार्गमा सत्याग्रह बस्ने कार्यक्रम रहेको राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापाले जानकारी दिनुभयो । सरकारले आफ्नो पार्टीले उठाएको मागको सुनुवाई नगरे तेस्रो चरणको अझै कडा आन्दोलन गर्ने उहाँले बताउनुभयो ।

राप्रपा पार्टीका बिचमा पार्टी एकताको कुराकानी भैरहेको हुँदा पार्टी एकता हुने उपाध्यक्ष गौचनले बताउनुभयो । यसैबीच कार्यक्रमको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय उपाध्यक्ष पदमा हालै मनोनित भएका पूर्वराज्यमन्त्री गौचनलाई पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरुले अबिर र खादा लगाई शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार