विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो

बेनी,मंगलबार बैशाख १७ गते ।

पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो ।

खोप सप्ताहको अवसरमा बालबालिकालाई पूर्ण खोप र यसको महत्वबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी–७, का वडा सदस्य देवेन्द्र थापाको अध्यक्षता र कार्यपालिका सदस्य अमृता भण्डारीको विशेष उपस्थितिमा सञ्चालित अभिमुखिकरणमा स्वास्थ्य व्यवस्थापन समिति, वडा सदस्यहरु र खोप उमेर समूहका बच्चा तथा आमाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ताकम स्वास्थ्चौकीका इन्चार्ज सम्झना क्षेत्रीले बालबालिकालाई पूर्ण खोपको महत्व, खोपको प्रकारहरु, खोप लगाउने समय, खोप लगाउँदा हुने फाइदा, कुन खोप कहिले दिने, खोप पाइने स्थान, बालबालिकालाई खोप लगाएपछि देखापर्ने सामान्य असरहरु, खोप कार्डको महत्व र व्यवस्थापन तथा आमा र बच्चाको व्यक्तिगत सरसफाइको विषयमा सहजीकरण गरेकी थिइन् ।

खोपसम्बन्धी विभिन्न जानकारी र कार्यक्रम गर्ने उद्देश्यसहित विश्वभर हरेक वर्ष अप्रिल २४ देखि ३० सम्म खोप सप्ताह मनाउने गरिन्छ । त्यस्तै नेपालमा पनि सन् २०१२ देखि खोप सप्ताह मनार्इँंदै आइएको छ । कुनै पनि बालबालिकाहरु खोपको पहुँचभन्दा बाहिर नपरुन् भनेर सरकारले राष्ट्रिय खोप कार्यक्रम चलाइरहेको छ । राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई ११ वटा खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । बालबालिकालाई (भ्यागुते, लहरेखोकी, धनुष्टङकार, हेपाटाइटिस ‘बी’, हेमोफिलस ईनफ्लुएन्जा, जापानीज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा–रुबेला) जस्ता रोगहरुबाट बचाउन खोप दिने गरिन्छ ।

धेरै अभिभावकले आफ्ना नानी बाबुहरुलाई जन्मनेबित्तिकै खोप दिनुपर्छ भन्ने जानकारी पाए पनि कतिपय अभिभावकहरु पूर्ण खोपबारे जानकारी नहुँदा बालबालिकाहरु अहिले पनि खोपको पहुँचभन्दा बाहिरै छन् । कतिले खोप लगाउन सुरु गरे पनि ११ प्रकारकै खोप पाउँदैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार