पिताको सम्झनामा प्रवासबाट दुईवटा विद्यालयलाई आर्थिक सहयोग



प्रताप बानियाँ
म्याग्दी,शनिबार भदौ १४ गते ।
प्रवासबाट एक व्यक्तिले शुक्रबार आफ्नो पिताको मुख हेर्ने अर्थात् कुशेऔंसीको दिन दुईवटा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर गाजने घरभई हाल अमेरिकामा रहेका लोकबहादुर बानियाँले विद्यालयलाई रकम उपलब्ध गराएका हुन् ।

आफूले अध्ययन गरेको विद्यालयलाई आफ्नी आमा पार्वती बानियाँको हातबाट उक्त रकम हस्तान्तरण गरेका छन् । पूर्व विद्यार्थी बानियाँले जनकल्याण मावि पुलाचौर र पौलस्त्य मावि भीरमुनीलाई क्रमशः २५ हजार पाँचसय ५५ रुपैयाँका दरले सहयोग गरेका छन् । जगन्नाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा उक्त रकम आमा पार्वती बानियाँले दुवै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई हस्तान्तरण गरेकी थिइन् ।

जनकल्याण मावि पुलाचौरको पुस्तकालयलाई पूर्व विद्यार्थी बानियाँले दुईलाख रुपैयाँ बराबरको महत्वपूर्ण पुस्तकहरु समेत सहयोग गरेका छन् । ८७ वर्षीय पार्वती बानियाँको प्रमुख आतिथ्यमा सहयोग रकम हस्तान्तरण गरिएको कार्यक्रममा बेनी नगरपालिकाका स्रोतव्यक्ति मोहन बानियाँ, जनकल्याण मावि पुलाचौरका अध्यक्ष रामप्रसाद सुवेदी र पौलस्त्य मावि भीरमुनीका अध्यक्ष गोविन्द बानियाँले मन्तव्य राखेका थिए । कार्यक्रम पुलाचौर समाज काठमाडौंका अध्यक्ष डम्बर केसीको अध्यक्षता, जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँको स्वागत र जनकल्याण मावि पुलाचौरका शिक्षक शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

जनकल्याण माविबाट अक्षर आरम्भ गरेका बानियाँले पौलस्त्य माविमा अध्ययन गरेका थिए । एमबिए, एमए इन हस्पिटल विषयमा म्यानेजमेन्ट गरी दुई विषयमा मास्टर डिग्री हासिल गरेका सहयोगी बानियाँ अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरकन्टीनेन्टल युनिभर्सिटिमा पिएचडी (विद्यावारिधि) तहमा अध्ययनरत रहेका छन् । उनी पुलाचौर समाज काठमाडौंका पूर्व कोषाध्यक्ष समेत हुन् ।



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार