नगरपालिकाद्धारा बोयर बोका र च्यापकटर वितरण

बेनी,मंगलबार चैत ०४ गते । म्याग्दीको बेनी नगरपालिकाको पशु सेवा शाखाले ब्यवसायिक कृषक र समूहलाई उन्नत बोयर जातको बोका र च्यापकटर वितरण गरेको छ । तीन वटा बोयर बोका र तीन थान घाँस काट्न प्रयोग गरिने च्यापकटर सहयोग गरेको हो । च्यापकटर खरिदमा ६० प्रतिशत र बोका सत प्रतिशत अनुदान दिएको शाखाका प्राबिधिक गणेश पौडेलले बताउनुभयो ।

बेनी नगरपालिका–३ भकिम्लीको मिलिजुली बाख्रापालन समूह, बेनी नगरपालिका–२ को राधाकृष्ण कृषि सहकारी र बेनी नगरपालिका–६ को कोटेसाँघु कृषक समूहलाई बोयर जातको बोका वितरण गरिएको थियो ।

बाख्राको नश्ल सुधार गर्ने उद्देश्यले कृषक समूहलाई बोयर बोका उपलब्ध गराइएको पशु सेवा शाखाका संयोजक प्रदिप गौतमले बताउनुभयो । कृषक र समूहबाट माग संकलन गरि प्रस्ताव छनौट गरेर सहयोग गरिएको हो ।

यसैगरी बेनी नगरपालिका ३ तोराखेतको केयरसिं कृषि तथा पशुपंक्षि फर्म, सोही वडाकै इन्द्र सुन्तला जात तथा उन्नत पशु फर्म र बेनी नगरपालिका २ तोराखेतका बिराट मल्ललाई एक÷एक थान च्यापकटर उपलब्ध गराइएको थियो । च्यापकटरमा पनि साठी प्रतिशत अनुदान दिएको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बोका र च्यापकटर वितरण गर्नुभएको थियो । उहाँले धेरै भन्दा धेरै कृषकले फाइदा लिन र सहयोगको सदुपयोग गर्न आग्रह गर्नुभयो । सन्तोष गौतम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार