कोरोनाका कारण तातोपानी कुण्ड अनिश्चितकालको लागि बन्द हुने

म्याग्दी ,बुधबार चैत ०५ गते । विश्वव्यापी महामारी रुपमा फैलिदै गएको कोरोना भाइरसको त्रासको कारण म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिने भएको छ ।
्म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डलाई अनिश्चितकालको लागि बन्द गरिने भएको हो ।

देशका विभिन्न ठाउँबाट प्राकृतिक तातोपानीमा स्नान गरि उपचार गराउन मासिनहरु आउने भएकाले कोरोना भाइरस संक्रमित व्यक्तिको आगमन हुँदा यसले ठुलो समस्या निम्त्याउन सक्ने भएकाले पूर्व सतर्कता अपनाएर चैत ८गतेदेखि कुण्डलाई अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्न लागिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो ।

जिल्ला प्रशासन, बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय लगायतका सरोकारवालासंग संयुक्त रुपमा छलफल गरि सबैको सल्लाह बमोजिम कुण्डलाई बन्द गर्ने निर्णय भएको कुण्ड व्यवस्थापन समितिका सह–सचिब कुमार केसीले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम न्युनिकरण भएर सामान्य भएपछि अर्को सूचना जारी गरेर मात्रै कुण्डलाई पुनः सूचारु गराउने व्यवस्थापन समितिले जनाएको छ । यस कुण्डमा अहिले ३ सय बढी विरामीहरुले कुण्डमा स्नान गर्ने र डुबेर उपचार गराउँदै आएका छन् । जमिनभित्रबाट निस्कने ४५ देखी ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरिरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रीक, नसा, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड, एसाईतिस लगायतका रोगहरु निको हुने मान्यता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार