धवलागिरी गाउँपालिकामा मूल्यसूचि कायम

बेनी,बेनी ,बुधबार चैत १२ गते । धवलागिरी गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूचि निर्धारण भएको छ । गाउपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधीकारीको ताकममा मंगलबार भएको बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण हुने खाद्यान्नको मूल्य सूचि कायम गरेका हुन् ।

गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, वडा अध्यक्ष कलानिधी सुवेदी, उद्योग वाणिज्य संघ धवलागिरी इकाइका सभापति किरन थापा लगायतको उपस्थितिमा बैठक बसेको थियो ।

ताकमलाई आधार मानेर निर्धारण गरिएको मूल्यदर अन्य वडामा ढुवानी जोडेर कार्यान्वयन गरिने, मराङ र मल्कवाङमा स्थानीय व्यवसायी र जनप्रतिनिधिको समन्वयमा मूल्य निर्धारण गर्ने निर्णय भएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन र स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि खाद्यान्नको मूल्य वृद्धि भएको गुनासो आएपछि गाउपालिकाले चासो दिएर मूल्य कायम गराउन ब्यवसायीसंग छलफल गरेको हो ।

चामल, दाल, तेल, चिनि र नुनको मूल्य कायम गरिएको हो । चामलको गुणस्तर अनुसार प्रतिबोरा १४५० देखि १९००, दालको प्रतिकेजी १३० देखि १९०, तेलको ८५ देखि ९०, चिनीको ९० र आडोडिन नुनको प्रतिकेजी ३० रुपैयाँ मूल्य कायम भएको छ । सबै पसलमा मूल्य सूचि राख्ने निर्णय समेत भएको छ ।

यसैबीच धवलागिरी गाउपालिकाले कोरोना रोकथामका लागि माइकीङ गराएको छ । बिदेशबाट फर्कीएकाहरुलाई सम्पर्कमा आउनका लागि अनुरोध गरेको छ । उनिहरुलाई घरमै सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्नका लागि गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार