व्यवसायीहरुले चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन नपर्ने

नोटलाई संक्रमण रहित बनाउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ,बुधबार चैत १२ गते । कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो ।

 

‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको सावा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने,’ निर्देशनमा भनिएको छ। कुन कुन व्यवाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने खुलाइएको छैन।

सो अवधिमा प्रवाह भएको कर्जाको बर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगनको व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

बैंकको काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई संक्रमण रहित बनाएर मात्र वितरण गर्न पनि आग्रह गरिएको छ।

कोरोना संक्रमणका लागि विदेशबाट आयात गरिने औषधिको भुक्तानी सहज बनाउन टीटीको माध्यमबाट आयात गर्दा विदेशी विनिमयको सीमा लागू नहुने व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई निर्देशन गरिएको छ।

यसैगरी, वित्तीय प्रणालीमा तरलता अभाव हुन नदिन अर्थमन्त्रालयले भुक्तानी गर्न बाकी रकम भुक्तानी गर्न, बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह कार्यलाई सहज बनाउन, पुनर्कर्जा कोषको उपयोग गर्न पनि अर्थमन्त्रालयले आग्रह गरेको छ।

यस्तै, सहुलियतपूर्ण ऋण प्रवाहलाई सहज बनाउन, कर्जा पहुाच बढाउन पनि निर्देशन दिइएको छ। बैंक तथा वित्तीय संस्थाले नगद रहित कारोबारलाई प्रोत्साहित गर्न विद्युतीय उपकरण प्रयोग गर्दा भुक्तानी गर्नु पर्ने शुल्कमा छुट दिन तथा न्यूनतम शुल्क लिन पनि अर्थले निर्देशन दिएको छ।कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार