नोवेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकद्धारा कोरोना भाइरस छिट्टै समाप्त हुने घोषणा

एजेन्सी,विहिबार चैत १३ गते । नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् । लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्, ‘अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेको छ । अब यो बिस्तार कम हुँदै जान्छ ।’

माइकलको भनाइलाई संसारभरबाट महत्वपूर्णरुपमा हेरिएको छ । उनले चीनमा देखिएको कोरोना भाइरसको असरका विषयमा लगत्तै आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको धारणा मिलेपछि अमेरिकी मिडियाले उनलाई पच्छाएका छन् ।

सयौँ हेल्थ एक्सपर्टस्ले चीनले कोरोना भाइरस नियन्त्रणमा काम गर्न नसक्ने बताएका बेला उनले निश्चित समय नै तोकेर चीनले नियन्त्रण गर्ने बताएका थिए । यो उनको धारणा अहिले सत्य सावित भएको छ ।

लेवितले फेब्रुअरी महिनामा लेखेका थिए, ‘चीनमा कोरोना भाइरसको संक्रमणमा गिरावट आएको छ । यसले के देखिन्छ भने अबका केही हप्तामा चीनमा कोरोना भाइरस नियन्त्रणमा आउँछ । मृत्युदरमा पनि अन्य देशभन्दा चीन पछि नै हुन्छ ।’उनको यो भविष्यवाणी सत्य सावित भएको छ ।

चीनले कोरोना भाइरसमा लगभग नियन्त्रण कामय गरिसकेको छ । वुहानमा सार्वजनिक गाडी चल्न थालेका छन् । चीन आफ्नो खुट्टामा उभिन थालेको छ ।
वास्तवमा लेविटले चीनमा झण्डै ३ हजार ३ सयको मृत्यु र ८० हजार संक्रमित हुने अनुमान लगाएका थिए । अहिले चीनमा मृत्यु हुनेको संख्या र संक्रमितको संख्या लगभग उस्तै छ ।

लेविटले अब संसारभर चीनकै जस्तो अवस्था देखिरहेका छन् । ५० देशको डाटा विश्लेषण गर्दै उनले धेरै रिकभरीको संकेत प्रस्तुत गरेका छन् । उनले चीन र दक्षिण कोरियामा नयाँ संक्रमणदर कम हुँदै गएको बताएका छन् ।

लेविट भन्छन्, ‘आंकडा अहिले उच्च तहमा पुगेको छ । वृद्धिदरको अनुपात हेर्दा अब कम हुँदै जान्छ ।’उनले टेस्टिङ नभएका कारणले धेरै संख्याका संक्रमित आउन बाँकी नै रहेको पनि बताएका छन् । यस्तो अवस्थामा पनि अब बिस्तारै कोरोना भाइरसको संक्रमण कम हुँदै जान्छ ।

लेविटको यो निष्कर्ष संसारभर उत्साह छर्ने एक महत्वपूर्ण तथ्य भएको छ । उनले कोरोना भाइरसबाट लड्ने तरिका पनि चीनले अपनाएजस्तो सजिलो नभएको बताए । सामाजिक दूरी कायम गर्ने एउटा महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ । उनले एक ठाउँमा भेला नहुन, दूरी मेन्टन गर्न, परिवारका सदस्यबीचमा पनि दूरी कायम गर्न, भिडभाडका कार्यक्रम नगर्न र रोग प्रतिरोधात्मक क्षमता बिकास गर्न सुझाव दिएका छन् ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्नका लागि महिनौँसम्म लाग्नसक्ने भन्दै उनले यस्तो बेलामा सडकमा निस्किने, साथीहरुसँग पाटीमा जानेलगायतका घर बाहिरका काम बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

लेविटले भनेका छन् ‘लक्ष्यको नजिक पुग्नका लागि अनुशासन चाहिन्छ । त्यसका लागि लक्ष्य पहिचान गर्नुपर्छ । चीनले आइसोलेसन गरेरै सफलता प्राप्त गरेको हो । त्यो सबैका लागि ध्यान दिनुपर्ने र अनुसरण गर्नुपर्ने विषय हो ।’

इटलीमा भाइरसको संक्रमण धेरै देखिनुको कारण बारेमा पनि उनले प्रष्ट पारेका छन् । लेविट भन्छन्, ‘त्यहाँ भ्याक्सिनविरुद्धको भावनाले गर्दा ठूलो क्षति पुगेको छ । सामान्य फ्लूविरोधी भ्याक्सिन नलगाएका कारण यस्तो अवस्था आएको हो । फ्लूविरुद्धको भ्याक्सिन नलिएका व्यक्तिमा यो भाइरसको आक्रमण तिब्र हुन्छ ।’

लेविटको कुराकानीले आम नागरिकलाई राहतको स्वास लिन सहयोग पुगेको छ । उनले अब ठिक हुने उपायका विषयमा सबैले प्रयास गर्नुपर्नेमा पनि जोड दिएका छन् । सन् २०१३ मा उनले रसायन शास्त्रमा नोवेल पुरस्कार प्राप्त गरेका थिए । उनले संसार नै सकिन्छ भन्ने जस्ता त्रसित पार्ने खालका दावीलाई खारेज गरेका छन् । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार