धवलागिरीको ताकममा विपन्न परिवारलाई राहत वितरण

गोपाल आचार्य
ताकम, बुधबार बैशाख ०३ गते । । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमका विपन्नलाई खाद्यान्न वितरण गरिएको छ ।

ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका, श्रमिक र विपन्न परिवारलाई गाउपालिकाले मंगलबार खाद्यान्न वितरण गरेको हो । १९६ परिवारलाई खाद्यान्न राहत उपलब्ध गराइएको ताकमका वडा अध्यक्ष कलानिधी शर्माले जानकारी दिनुभयो ।

१ बोरा चामल, २ पोका नुन, ३ वटा सावुन र ३ पोका खाने तेलका दरले खाद्यान्न वितरण गरिएको थियो । सरकारले बनाएको मापदण्ड अनुसार वडा कार्यालयले आवेदन संकलन गरि सर्वदलीय, सर्वपक्षीय समितिले छनौट गरेका परिवारलाई राहत उपलब्ध गराइएको हो ।

सामाजिक सुरक्षा भत्ता नपाउने र आयस्रोत नभएका ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुलाई मात्र राहत उपलब्ध गराएको वडा अध्यक्ष शर्माले बताउनुभयो ।

यसअघि धवलागिरी गाउपालिकाले मराङका ८८, मल्कवाङका ६९, लुलाङका १२३ र मुदीका ११९ परिवारलाई राहत वितरण गरेको गाउपालिकाले जनाएको छ । ।कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहतका लागि धवलागिरी गाउपालिकाले पचास लाख रुपैयाँ बिनियोजन गरेको छ । राहत वितरणका लागि गण्डकी प्रदेश सरकारले पाँच लाख, जिल्ला समन्वय समितिले दुई लाख र पश्चिम नेपाल सहकारीले १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार