धवलागिरी गाउँपालिकाको कोरोना रोकथाम, पूर्वाधार र रोजगारलाई प्राथमिकता

मुना,बुधबार असार १० गते । कोरोना (भाइरस) रोकथाम, पूर्वाधार, रोजगार र पूर्वाधारका योजनालाई प्राथमिकता दिदै म्याग्दीको धवलागिरी गाउपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ४२ करोड रुपैयाँको बजेट ल्याएको छ ।

मुनामा मंगलबार सम्पन्न आठौ गाउसभामामा अध्यक्ष थमसरा पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेट पारित गरेको हो । यसैगरी कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालद्धारा प्रस्तुत आर्थिक र बिधायन समितिका संयोजक झक छन्त्यालले प्रस्तुत गरेको बिनियोजन बिधेयक समेत पारित भएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

तलब भत्ता, प्रशासनिक, सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदान सहित चालु शिर्षकमा २९ करोड ८६ लाख ३० हजार र विकास आयोजना तथा कार्यक्रमका लागि पुजिगत शिर्षकमा १२ करोड ६५ लाख ५२ हजार ५८० रुपैयाँको बजेट पारित भएको हो । कर्मचारी, पदाधीकारीको तलबभत्ता र प्रशासनिक खर्च सहित चालु अन्तरगत छ करोड ८४ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

आन्तरिक आम्दानी २६ लाख रुपैया हुने अनुमान गरेको गाउपालिकाको बजेटको मुख्य स्रोत संघीय र प्रदेश सरकारको अनुदान तथा चालु आर्थिक बर्षमा खर्च हुन नसक्ने बजेट हो । कोरोना रोकथामका लागि निशूल्क क्वारेन्टिन सञ्चालन गर्ने नीति सहित विपद् व्यवस्थापन कोषमा ७५ लाख रुपैयाँ बिनियोजन गरेको छ । पुजिगत शिर्षकको बजेटबाट १९५ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सडक, भवन, सिचाई, खानेपानी, ढल निकास लगायतका पूर्वाधार योजनामा सबै भन्दा बढी तीन करोड ६४ लाख ८६ हजार ५८० रुपैयाँ बिनियोजन भएको छ । कोरोनाका कारण रोजगारि गुमाएका युवाहरुलाई स्वरोजगार बनाउन घुम्ति कोष परिचालनका लागि तीस लाख रुपैयाँ र कृषि व्यवसाय प्रर्वद्धन कोष स्थापना तथा सञ्चालन गर्न बीस लाख रुपैयाँ बिनियोजन भएको छ ।

पर्यटन गुरुयोजना निर्माणमा दश लाख बिनियोजन गरेको छ । आवासबिहिन जनतासँग वडा अध्यक्ष, सुनौला हजार दिनका आमासँग अध्यक्ष, उमेर सान्दर्भिक बिवाहसँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको छ । एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

पालिका स्तरीय खेलकुद विकास समिति गठन गर्ने, खेलकुद सामग्री वितरण र घुम्ति शिविर मार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, धारापानीमा सामुदायिक स्थापना गर्ने बजेट बिनियोजन गरेको छ ।

ब्यवसायिक जडिवुटि खेति विस्तार गर्ने, सडक, खानेपानी, सिचाई र विद्युत विस्तारका साथै स्तरोन्नितिमा जोड दिएको छ । कोरोनाका कहरका बिच जनतालाई रोग र भोगबाट गोजाएर विकासका गतिबिधि र सेवाप्रवाहलाई निरन्तरता दिने नीति लिएको अध्यक्ष पुनले बताउनुभयो । वाइट
आगामी आर्थिक वर्षमा साउनबाटै योजना सर्वेक्षण, लगत तयार, सम्झौता गरि कार्यान्वयन प्रक्रियामा लगेर असारे विकासको समस्यालाई निरुत्साहित गरिने प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

ताकम र बगरमा विद्युत विस्तार, लुलाङमा लघुजलविद्युत परियोजना पुननिर्माण, मुदी, मल्कवाङ र मराङको राम्चेसम्म सडक पुग्नुलाई यो वर्षको मुख्य उपलब्धि मानिएको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

लुलाङको वडा कार्यलय, मुना स्वास्थ्य चौकी र हेम नमुना आवासीय माविको भवन तथा मालिका र धवलागिरी गाउपालिका जोड्ने भारवाङखोला, मराङखोलामा मोटरेबगर पुल निर्माण सुरु भएको छ । धवलागिरीको ताकम र मालिकाको देविस्थान जोड्ने सडक, गुर्जा देखि मुदी जोड्ने पदमार्ग निर्माण भएको छ ।

कोरोनाको जोखिम, लकडाउन र हिमपातका बावजुद दुर्गम र विकट क्षेत्रका उपभोक्ता समितिले असी प्रतिशत भन्दा बढी काम सकेका गाउपालिकाले जनाएको छ । फागुन महिनासम्म कर्मचारीको अभाव हुनु र जेठदेखि गाउपालिकाको कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध हुँदा काम गर्न कठिनाई भएको छ ।

गाउसभामा अमृता भण्डारी, लिला विश्वकर्मा, बमबहादुर पुन, झक छन्त्याल, पुर्म पुन, देउप्रसाद छन्त्याल लगायतले छलफलमा भाग लिदै बजेट, नीति तथा कार्यक्रममा सुझाव दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार