कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो

पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले कोप्चेपानीको बस्ती उच्च जोखिममा परेपछि सोही वडाको भालेबासमा त्रिपालको अस्थायी टहरामा सारिएको हो ।

‘बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले बस्ती नै उच्च जोखिममा परेपछि कोप्चेपानीका २३ घरपरिवारलाई भालेबासमा अस्थायी टहरा बनाई सारिएको छ ,’–अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो ,‘बस्तीको दिर्घकालिन व्यवस्थापनका लागि गाउँपालिकाले पहल थालेको छ ।’ पहिरोको उच्च जोखिममा रहेको कोप्चेपानीमा खानेपानीका लागि गाउँपालिकाले ४ सय मिटर फाइप उपलब्ध गराएको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले जानकारी दिनुभयो । पहिरोले बस्ती माथिको जमिन चिराचिरा परेको छ ।

बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । सबै परिवारलाई एक/ एक वटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ । यसैगरी गाउँपालिकाले २३ परिवारलाई प्रति परिवार ओढ्ने ओछ्याउने कम्बल र म्याट्रेस उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । घरका महत्वपूर्ण कागजात, अन्नपात, लत्ताकपडासहित सामान टहरामा सारेका छन् ।

यसैगरी अध्यक्ष क्याप्टेन गर्बुजा पुनले कोप्चेपानीका आमा समुहलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । टहरा बनाउने कार्यमा अध्यक्ष क्याप्टेन गर्बुजा सहित प्रमुख प्रशासकीय अधिकृत सुवेदी ,वडा अध्यक्ष फगामी ,महिला वडा सदस्य पवित्रा खड्का समाजसेवी बेल बहादुर पुर्जा लगायतले सहजिकरण गरेका थिए । पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ का १३ घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यसअघि बुधबार अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ३ जलथलेका ३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुन ,प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र वडा अध्यक्ष चन्द्रप्रसाद फगामी सहितको टोलीद्धारा स्थलगत निरिक्षण पछि शनिबार भालेबासमा अस्थायी टहरा निर्माण गरी आइतबार २३ घर परिवारलाई सारिएको हो । स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार