म्याग्दीमा कांग्रेस अधिवेशन : सभापति गर्बुजा पक्ष बलियो

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा शनिबार भएको पालिका अधिवेशनमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ पक्ष बलियो देखिएको छ । जिल्लामा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । ६ वटै पालिकामा आएको परिणाम अनुसार जिल्ला सभापति गर्बुजा  बलियो देखिनुभएकाे हाे । अन्नपुर्ण गाउँपालिका र बेनी नगरपालिकामा निर्वाचन र मंगला ,मालिका,रघुगंगा तथा धवलागिरी गाउँपालिकामा सर्बसम्मत नेतृत्व चयन गरिएको छ ।

सभापति गर्बुजा केन्द्रमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुनुहुन्छ ।  पालिकामा आएको परिणाम अनुसार बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पार्टी निवर्तमान जिल्ला सभापति एवं संविधान सभा सदस्य रेशमबहादुर बानियाँ कमजोर देखिनुभएको छ । आइतबार निर्वाचन भएको बेनी नगरपालिकाको सभापतिमा गर्बुजा पक्षका रबिन्द्र कार्की विजयी हुनुभएको छ । निवर्तमान जिल्ला सभापति रेशमबहादुर बानियाँ पक्षबाट सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । मतदानबाट दुबै पक्षको मिश्रीत परिणाम आएको छ । कार्की प्यानलाबाट सभापति सहित एक उपसभापति र एक सचिब बिजयी हुँदा बोगटी प्यानलबाट एक उपसभापति, एक सचिब र दुई सह–सचिब बिजयी भएका छन् ।

त्यस्तै गर्बुजा पक्षबाट मालिका गाउँपालिकाको सभापतिमा पक्षका खिमबहादुर पुन ,मंगला गाउँपालिकाको सभापतिमा नरसिङ केसी ,धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन र रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुजा सर्वसम्मत चयन हुनुभएको छ । अन्नपुर्ण गाउँपालिकाको सभापतिमा गर्बुजा पक्षका क्याप्टेन बलबहादुर तिलिजा विजयी हुनुभएको छ । बानियाँ पक्षबाट सभापतिका उम्मेदवार वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवाललाई पराजित गर्दै तिलिजा विजयी हुनुभएको हो ।

पारिवारीक हिसाबले बानियाँ निकट हुनुभएका धवलागिरी गाउँपालिका सभापति पुन संस्थापन पक्षमा आएकोले जिल्ला सभापति गर्बुजा बलियो हुनुभएको ति नेताको दाबी छ । नेतृत्व चयन गर्न सम्बन्धित पालिका कार्यसमितिलाई जिम्मेवारी दिइएको थियो ।पार्टीको आसन्न प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि वर्तमान जिल्ला सभापति गर्बुजा र बानियाँ बिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अधिवेशनमा मतदान र सर्बसम्मत नेतृत्व चयनलाई नियमित प्रक्रिया मानेर सबैसंगको सहकार्यमा अगाडी बढ्न नेता तथा कार्यकर्ताहरुको आग्रह छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार