म्याग्दीमा आजदेखि विद्यालय र तातोपानी खुल्दै

बेनी । लामो समयदेखि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानी कुण्डहरु आजदेखि (शुक्रबार ) देखि खुल्ने भएका छन् । सोमबार बसेको कोभिड–जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको महामारीका कारण बन्द भएका शैक्षिक संस्था तथा तातोपानी कुण्ड खुलाउने निर्णय गरेको थियो ।

कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि म्याग्दीमा बैशाख दोस्रो सातादेखि शैक्षिक संस्था र तातोपानी कुण्डहरु बन्द भएका थिए ।कोरोना महामारी जारी रहेकोले ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालय र तातोपानी कुण्डा खुलाउने निर्णाय भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

धवलागिरी ,रघुगंगा ,मंगला ,अन्नपुर्ण र मालिका गाउँपालिकाले यस अघि नै विद्यालय सञ्चालन गरिरहेका छन् । मालिकाले २७ भदौदेखि विद्यालय संचालन गरिरहेको छ । स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्था गरेर विद्यालय भौतिकरुपमा सञ्चालन गर्न अनुमति दिइएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो ।

कोरोना विरुद्धको खोप लगाएको १० दिन नाघेका र ७२ घण्टाभित्रको पीसिआर तथा एन्टिजेनको नेगेटिभ रिपोर्ट भएका जिल्लाबासीलाई तातोपानीमा स्नान गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।जिल्लाको बेनी नगरपालिकाको सिंगा ,अन्नपुर्ण गाउँपालिकाको भुरुङ ,तातोपानी ,सेकार्कु ,रघुगंगाको दर्मिजा ,धवलागिरीको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्डहरु रहेका छन् । धार्मिक स्थल ,मठमन्दिर तथा पर्यटकीय स्थल खुलाउने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका ४५ मध्य ३० वटा वडामा कोरोना संक्रमित छैनन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार