बेनीमा सञ्चालित स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षणसम्बन्धी तालिम सकियो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर सञ्चालित बृहत पोषण विशेष कार्यक्रमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सकिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

सात दिनसम्म चलेको तालिममा जिल्लाको ६ वटा स्थानीय तहको स्वास्थ्य शाखाबाट २ जनाका दरले सहभागिता रहेको थियो । तालिमका सहभागी र प्रशिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिम समापन सत्रलाई सम्बोधन गर्दै मिलन म्याग्दीका अध्यक्ष शिव बानियाँले तालिममा सिकेका ज्ञान, सिप र अभ्यासलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सुआहारा कार्यक्रमको बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी र तालिमका सहभागी शिवप्रसाद पाण्डेले मन्तव्य राख्नुभएको थियो । पोषणसम्बन्धी बृहत विषयवस्तुहरुको एकीकृत प्याकेजका तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, सिप तथा व्यवस्थापकीय पक्षको क्षमता अभिवृद्धि गर्ने, पोषणसम्बन्धी व्यवहार सुधारका लागि परामर्श र छलफल विधिद्वारा ज्ञान, सिप एवं धारणामा सकारात्मक परिवर्तन गर्न र कुपोषण व्यवस्थापनको लागि प्राविधिक तथा परामर्शसम्बद्ध ज्ञान, सिप र क्षमताको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो ।

तालिम अवधिभरमा राष्ट्रिय पोषण नीति तथा रणनीति, बहुक्षेत्रीय पोषण योजना र महत्व, खाद्य विविधिकरण तथा स्थानीय खानेकुराको महत्व, किशोरावस्थाको पोषण, मातृ पोषण, पुरक वा थप खाना, बहु सुक्ष्म पोषक तत्वहरु, वृद्धि अनुगमन तथा महत्व, बाल संरक्षण अनुदान र शिशु तथा बाल्यकालीन पोषण बीचको सम्बन्ध, बिरामी बालबालिकाहरुको खाना र हेरचाह, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन, बहिरङ्ग सेवाको परिचय, सिबिआईएम एनसिआई अनुसार स्वास्थ्य लेखाजोखा, शीघ्र कुपोषण पत्ता लगाउन पोषणको लेखाजोखा, प्रणालीबद्ध औषधीबाट उपचार, अन्तरङ्ग सेवाको परिचय र उपचार पद्धति, महिलामा हुने शीघ्र कुपोषण व्यवस्थापनलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल, सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दी वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृतहरु रुबी जोशी, रामचन्द्र पन्थी, मिरा बम र सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो । तालिमको समापनसत्र स्वास्थ्य कार्यालयका सिअहेव अधिकृत सोमनाथ उपाध्यायको अध्यक्षता र परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार