अनलाइन परीक्षा हुनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलनमा

काठमाडौँ । काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थी आन्दोलित भएका छन्। कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्।

आन्दोलनमा उत्रिएका नौ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। कान्तिपुर इन्टरनेशनल कलेजबाट आठ-नौ जनालाई नियन्त्रणमा लिइएको छ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीहरूले परीक्षा भौतिक रूपमा नभई अनलाइन सञ्चालन गर्नुपर्ने माग राखेका छन्। धक्काधक्की गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको गाडीमा पनि उनीहरूले धावा बोलेछन्।’

एलएलबी चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि सुरू हुनुपर्ने थियो। विद्यार्थीहरू आन्दोलित भएपछि परीक्षा सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।एसपी मैनालीका अनुसार अहिले परीक्षा सञ्चालन गराउने प्रयास भइरहेको छ। विद्यार्थीहरूले प्रहरीले आफूहरूमाथि बल प्रयोग गरेको भन्दै नाराबाजी गरेका छन्। उनीहरूले व्यंग्यात्मक शैलीमा नाराबाजी गरेका हुन्।

विद्यार्थीहरूमाथि बल प्रयोग गरेकोबारे जानकारी आइनसकेको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो। आन्दोलनमा एक विद्यार्थी घाइते समेत भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य भएको प्रहरीले जनाएको छ। उपचारको लागि उनलाई बानेश्वरस्थित एभेरेष्ट अस्पतालमा लगिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार