आत्मनिर्भर साना किसान कृषि सहकारीको दोस्रो वार्षिक साधारणसभा (तस्बिरहरु)

दरबाङ ।पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडको आज (आइतबार) दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । दरबाङमा सम्पन्न साधारणसभामा गएको पुस महिनासम्म सहकारीमा कुल ४ सय २१ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी ५३ लाख ५३ हजार आठसय रुपैयाँ रहेको छ ।

हालसम्म ७६ लाख ३५ हजार आठसय ३५ रुपैयाँ लगानी रहेको सहकारीको साधारणसभाको उद्घाटनसत्रमा संस्थाका कोषाध्यक्ष बमसरा पुनले आर्थिक र सहसचिव सरला आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०७६ सालमा स्थापना भई मालिका गाउँपालिका कार्यक्षेत्र बनाएर सञ्चालन भएको सहकारीले उत्पादित वस्तुसँग वस्तु साट्ने, बाँझो रहेको जमिनमा कृषि खेती गर्ने र उत्पादनमूलक क्षेत्रलाई जोड दिइएको जनाएको छ ।

साधारणसभाको उद्घाटन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले सहकारी संघसंस्थाहरु आफ्नो लक्ष्य र उद्देश्यअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि सहकारी भएको नाताले कृषि क्षेत्रमा नै पर्याप्त मात्रामा लगानी वृद्धि गरी अर्गानिक उत्पादनलाई बढाउनुपर्ने बताउँदै सहकारीलाई गाउँपालिका र आफ्नो तर्फदेखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । सहकारीले समुदायमा स्वरोजगारको सिर्जना गरी गरिबी निवारण गर्न सक्ने उपाध्यक्ष बिटालुको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै मालिका–६, दरबाङका वडा अध्यक्ष सन्तोष सुवेदीले गाउँपालिकाभित्र रहेका स्थानीय कृषकहरुको कृषि पेशा तथा व्यवसायमा परिवर्तन र रुपान्तरण ल्याउने गरी कृषि सहकारीमार्फत कृषकलक्षित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले म्याग्दी जिल्लाको मालिका र धवलागिरि गाउँपालिकामा गरी दुईवटा साना किसान कृषि सहकारी सञ्चालनमा रहेको भन्दै सहकारी संघसंस्थाबाट युवा पलायन रोकेर स्वरोजगारको सिर्जना गर्नुपर्ने बताउनुभयो । वडा कार्यालय र पालिकाको सहयोगमा बाँझो जमिनमा गोलभेँडा तथा किबीको खेती, आलु पकेट क्षेत्र र पशुपालनका क्षेत्रमा लगानी गरिएको उहाँले जानकारी दिनुभयो ।

साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट कारोबारकर्ता धनबहादुर बोहोरा, पशुपालनतर्फ उत्कृष्ट कृषकहरु लालबहादुर पटेल, सुरेन्द्र रोका, उमादेवी पुन, पूर्णराज सापकोटा, धनबहादुर पौडेल र अल्लो उद्यमी मनकुमारी पुनलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै कृषि उत्पादनमा सक्रिय कृषकहरुलाई पनि सम्मान गरिएको सहकारीका प्रवन्धक दिवानी सापकोटाले बताउनुभयो ।

कार्यक्रममा लेखा तथा सुपरिवेक्षक समितिका संयोजक श्रीलाल सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका अध्यक्ष तिलकसिंह ठकुरीको अध्यक्षता, उपाध्यक्ष चित्रबहादुर विश्वकर्माको स्वागत र शेयर सदस्य अमृत सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कृषि सहकारीको अन्तर समूह ओखरबोटका अध्यक्ष सरिमा पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार