६ महिनामा ४ खर्ब ६८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म यस्तो विप्रेषण आप्रवाह ४६८ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको हो ।

जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ५.५ प्रतिशतले कमी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १,६७,५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १,३०,२१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई रु.५२३ अर्ब १ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार