दलित अधिकारकर्मी किसानको उपचारमा आर्थिक अभाव

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आउनुभएका दलित अगुवा याम किसान मुटु रोगबाट ग्रसित हुनुभएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिएका किसानको उपचारमा आर्थिक समस्या भएको छ ।

सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले स्वास्थ्य समस्या बढ्दै गएपछि २०७५ सालमा मुटुरोग बिशेषज्ञ भगवान कोइराला संग जाँच गराउनुभएको थियो । डा. कोइरालाको परामर्श अनुसार औसधि सेवन गर्दै आउनु भएका उहाँलाई हाल आएर मुटुको समस्या झन बढेपछि डा. कोइरालाकै सल्लाह अनुसार अप्रेसन गनुपर्ने भएको हो ।

३ वटा भल्बमा समस्या देखिएको जसमध्य २ वटा भल्बको अप्रेसन गर्नुपर्ने किसानले बताउनुभयो । उहाँको १ भल्ब साँघुरो भएको र अर्को भल्बमा प्वाल परेको छ । डा. कोइरालाको सल्लाह अनुसार साँघुरोलाई खुल्ला बनाउन र प्वाल परेकोलाई टाल्नका लागि तत्काल अप्रेसन गर्नुपर्ने किसानले बताउनुभयो ।

डा.कोइरालाको टिमले गत माघ २१ गते नै वेड भर्नाका लागि टिचिङ अस्पताल काठमाडौँ बोलाएको तर आर्थिक अभावका कारण आफु जान नसकेको किसानले बताउनुभयो । आधी जिन्दगी दलित आन्दोलनमै बिताएका किसानको पारिवारिक आर्थिक अबस्था निकै कमजोर रहेको छ ।

अप्रेसनका लागि तत्काल २ लाख ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने अस्पतालले भनेको छ, किसानले भन्नुभयो “पैसा जुटाउन नसकेर भर्ना हुन बोलाएको मितिमा जान सकिन” । किसानको उपचारका लागि करिव ८ लाख रुपैयाँ खर्च लाग्न सक्ने अस्पतालले जनाएको छ । किसानको उपचारमा आर्थिक अभाव भएपछि पुस्कर बिश्वकर्माको संयोजकत्वमा ‘याम किसान उपचार सहयोग संकलन समिति’ गठन गरि अभियान संचालन गरिएको छ ।

समितिको सहसंयोजकमा लालु किसान र सदस्य सचिवमा अमित बिश्वकर्मा रहनुभएको छ । समितिले आर्थिक संकलन अभियानलाई देश तथा बिदेशमा रहेका विभिन्न म्याग्देलीहरु समक्ष पुराउने र आर्थिक सहयोगको अपिल गर्ने कार्यलाई अगाडि बढाएको छ ।

आर्थिक संकलनका लागि याम किसान सहयोग संकलन समितिको नाममा ज्योति बिकास वैंक वेनी शाखामा खाता संचालन गरेको संयोजक बिश्वकर्माले बताउनुभयो । किसानको उपचारका लागि जिवन ज्योति सेवा केन्द्र म्याग्दीबाट ३० हजार रुपैयाँ र बेनी नगरपालिकाबाट २० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

त्यस्तै म्याग्दी निस्कोट घर भई हाल पोर्चुगलमा रहनुभएका राजविर पर्टेलले १० हजार रुपैयाँ र समितिका संयोजक बिश्वकर्माले ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । किसानको उपचार सहयोग संकलन अभियानमा जोडिन समितिले सवैमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार