घतानमा व्यवसाय सचेतनासम्बन्धी तालिम सुरु (तस्बिरहरु)

म्याग्दी ।समुदायस्तरमा लघुउद्यम व्यवसाय सुरु गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय सचेतना तथा सुरुसम्बन्धी तालिम सञ्चालन भएको छ । बेनी नगरपालिकाको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–९, घतानमा मङ्गलबार देखि तालिम सुरु गरिएको हो ।चालु आर्थिक वर्षको बजेटबाट गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत व्यवसाय सचेतना तथा सुरु तालिम र लैङ्गिक सामाजिक समावेशीकरणसम्बन्धी विषयमा तालिमको आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

७ दिनसम्म व्यवसाय सचेतना तथा सुरु तालिम र एकदिन लैङ्गिक सामाजिक समावेशीकरणको विषयमा सहजीकरण गरिने भएको छ ।
तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ग्रामीण क्षेत्रमा बाँझो तथा खेर गैरहेको जग्गाजमिनको सदुपयोग गरी उद्यमको सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेको ज्ञान, सिपलाई व्यवहारमा पूर्ण रुपमा उतारेर उत्पादन तथा व्यवसायमूलक क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिँदै आर्थिक समृद्धि हासिल गर्नका लागि कृषि र पशुपालनको क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । गाउँमै लघुउद्यमको माध्यमबाट स्वरोजगार एवं आत्मनिर्भर बन्न सकिने उहाँको भनाइ छ ।

सोही तालिममा बोल्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले व्यवसाय दर्ता गरेमा कर तिरिरहनुपर्छ भन्ने सोचलाई परिवर्तन गरी उत्पादनको क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सानो भए पनि व्यवसाय सुरु गरेर अगाडि बढ्नुपर्ने बताउँदै लघुउद्यमले मानिसलाई उत्पादनसँग जोड्ने भएकाले आर्थिक उपार्जनको क्षेत्रमा सहयोग पु¥याउने बताउनुभयो ।

बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापाले जागिरभन्दा पनि व्यापार, व्यवसाय र उद्यमलाई जोड दिन आग्रह गर्दै व्यवसाय सञ्चालन गर्दा चाहिने आवश्यक सहजताका लागि बेनी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तालिम उद्घाटनसत्रको समापन गर्दै घतानका वडा अध्यक्ष बेलबहादुर चोखालले वडामा यसअघि पनि मुढा बुन्ने, अगरबत्ती बनाउनेलगायत विभिन्न सिपमूलक र व्यवसायसँग सम्बन्धित तालिम तथा कार्यक्रमहरु सञ्चालित गरिएको जानकारी दिनुभयो ।

तालिममा बोल्ने वक्ता तथा सरोकारवालाले लघुउद्यमसम्बन्धी तालिमपश्चात् उद्यममार्फत समुदायमा रोजगारको सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । तालिमको स्वागतसहित बेनी नगरपालिकामार्फत सञ्चालित मेड्पा कार्यक्रमका फोकलपर्सन कुलचन्द्र रेग्मीले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । एक हप्तासम्म चल्ने तालिमको बेनी नगरपालिकाका उद्यम विकास सहजकर्ताद्वय सरिता शर्मा र सीता अर्मजाले सहजीकरण गरिरहनुभएको छ ।

उद्यम विकास सहजकर्ता अर्मजाको सञ्चालनमा सम्पन्न तालिममा घतानका २५ जनाले सहभागिता जनाएका छन् । तालिम अवधिभरमा लघु तथा घरेलु उद्यम सुरु तथा सञ्चालन, दर्ता प्रक्रिया, उद्यम तथा व्यवसाय गर्दाका फाइदाहरु, यसका लागि आवश्यक पर्ने तत्वलगायत विभिन्न विषयमा सहजीकरण गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार