ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ७ स्थित ताकममा निर्माणधिन पालिका स्तरीय अस्पतालको भवन अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले अस्पतालको भवन निर्माणको काम अलपत्र परेको हो । निर्माण सम्पन्न हुने समय अवधिमा आइपुग्दा समेत भवन अलपत्र छोडेर ठेकेदार भागेको स्थानीयले गुनासो गरेका छन् ।

संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार पाँच शय्या क्षमताको अस्पतालका लागि दुईतले भवन निर्माण सुरु गरिएको केही समयमै कोरोना र विभिन्न बाहना बनाएर ठेकेदार सम्पर्कविहिन भएका स्थानीय युवा प्रगति कार्कीले बताउनुभयो ।

‘ताकममा निर्माणधिन अस्पताल अलपत्र परेको छ,’ स्थानीय युवा कार्कीले भन्नुभयो । कार्कीका अनुसार भवन निर्माणले गति नलिँदा समस्या भएको छ । उक्त भवन निर्माणको ठेक्का बिएम आइएस एसी जेभी बुर्तिबाङ बागलुङले चार करोड ८८ लाख ७२ हजार लागतमा ठेक्का सम्झौता गरेको थियो । अस्पताल भवन निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी दिपकुमार अडाईले सडक अवरुद्ध हुँदा  भवन निर्माणको काम अलपत्र परेको बताउनुभयो ।

उहाँले गत बर्ष माघ मसान्तसम्म काम भएको त्यस पछि भने सडक अवरुद्धका कारण काम गर्न नसकिएको दावी गर्नुभयो । निर्माण स्थलमा निर्माण समाग्री ढुवानी गरिएको0ले आगामी जेठ मसान्तसम्म अस्पताल भवन निर्माण सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसीको काम गरेको छ । २२ पुष २०७७ मा प्रतिनिधि सभा सदस्य सांसद भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभएको थियो । १५ असार २०७९मा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । आगामी जेठ मसान्तसम्म म्याद थपिएको छ । अहिलेसम्म करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गाउँपालिकाका सवइन्जिनियर लोकेन्द्र बहादुर रावलका अनुसार, निर्माण कम्पनीले गाउँपालिकाबाट १९ प्रतिशत ९२ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी लगिसकेको छ ।

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको अवस्थामा ठेकेदारलाई ताकेता गरिएको गाउँपालिका अध्यक्ष प्रेम पुनले बताउनुभयो ।

उहाँले ठेकेदार कम्पनीले पेश्की सहित पहिलो किस्ता समेत भुक्तानी लगिसकेको बताउनुभयो । ‘हामी निर्वाचित भएर आएपछि अलपत्र भवनको निर्माणको काम सुचारु गर्न पटकपटक ताकेता गरिरहेका छौं । निर्माण व्यवसायीले खाली बाहना मात्र बनाउँछन् ,’ उहाँले भन्नुभयो ‘बजेटको कुनै अभाव छैन् ,पेश्की सहित पहिलो किस्ता समेत निर्माण व्यवसायीले भुक्तानी लगिसकेका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार