ताकममा मोनाको आठौँ बार्षिक साधारणसभा हुँदै,पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आठौं बार्षिक साधारण सभा ताकममा हुने भएको छ । जिल्लाको हरेक क्षेत्रको विकासमा ठुलो सहयोग पु¥याउँदै आएको प्रवासी म्याग्दीलीहरुको साझा संस्था माेनाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकममा आठौं बार्षिक साधारण सभा हुने भएकाे हाे  । यस  अघि असोज २७ र २८ गते हुने भनिएकोमा  साधारणसभाको मिति परिवर्तन गरेर असोज २४ र २५ गते तय गरिएको हो ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको मितिसंग जुधेपछि मोनाले ३ दिन अगाडी मिति सारेर साधारण सभा सम्पन्न गर्न लागेको मोना अन्तराष्ट्रियका सचिव सुवोध वरुवालले जानकारी दिनुभयो ।

धवलागिरि गाउँपालिकाको एक सुन्दर पर्यटकीय बस्ती ताकममा साधारणसभा सम्पन्न गर्न स्थानीय वडा तथा पालिकासंग समन्वय गरि तयारी सुरु गरेको मोनाका महासचिव हरी राम्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार, विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोनाको बार्षिक साधारणसभाको अवसरमा अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता, म्याग्दीको पहिचान थाली र पुख्यौली नाच सहित विविध कार्यक्रम समेत संचालन हुनेछन् ।

कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, एनआरएनएका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाको उपस्थितिमा प्रवासी म्याग्देलीको भावी योजना लगायतका विषयमा छलफल हुने मोनाले जनाएको छ । कार्यक्रममा ताकमको राधाकृष्ण नाच सहित स्थानीय कला र संस्कृतिलाई प्राथमिकता दिइएको मोनाले जनाएको छ । पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथमलाई १ लाख रुपैयाँ , द्धितियलाई ५० हजार रुपैयाँ, तृतीयलाई नगद २५ हजार रुपैयाँ र सान्त्वनालाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने खेलकुद संयाेजक जंगबहादुर पुनले जानकारी दिनुभयाे ।

मोनाका अध्यक्ष अम्मर छन्त्यालले साधारणसभाले धवलागिरी गाउँपालिका भित्रका सम्भावनायुक्त क्षेत्रको पहिचान तथा कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउने बताउनुभयो । मोनाको विश्वभर २८ देशमा राष्ट्रिय कार्यकारी समिति, ५ वटा क्षेत्रीय समिति रहेका छन् । ताकम धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रुपमा परिचित छ भने ऐतिहासिक ताकमकोतको कारण पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

त्यसैगरी मोनाले जिल्लाको रघुगंगा गाउँपालिका–२, भगवतिमा असोज अन्तिम साता आँखा उपचार शिविर सञ्चालन गर्ने भएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समिति र अष्ट्रेलियाको आयोजनामा यही असोज २९ गते भगवतिमा निशूल्क आँखा शिविर आयोजना गरिएको मोनाका प्रवत्ता हिक्मत श्रेष्ठले जानकारी दिनुभयो । प्रवासी म्याग्देलीहरुले आर्थिक स्रोत जुटाएर ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरिएको उहाँले बताउनुभयो ।यस अघि धवालगिरी गाउँपालिकाको मुनामा आँखा शिविर सम्पन्नभ भएको छ । भने अन्य पालिकामा पनि संचालन गरिने मोनाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार