‘गाउँलाई सहर, युवालाई आत्मनिर्भर’ बनाउने प्रमुख प्राथमिकता हो : उम्मेदवार हरी भण्डारी

  म्याग्दी न्युज संवाददाता

म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारीसंग आसन्न निर्वाचनमा उहाँको मुख्य एजेण्डा र चुनावी अभियानको सन्दर्भमा गरिएको कुराकानी ।

मंसिर ४ नजिक आइसकेको छ । निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ?
सर्वप्रथम यहाँलाई धन्यबाद । मंसिर ४ गते निर्वाचन हुँदै छ । अझ भनौ मुलुकलाई अग्रगमन र प्रतिगमन कता लैजाने भनेर जनताले फैसला गर्ने दिन हो । अघिल्लो निर्वाचनमा जनताले दिएको जनमतलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्न सकेनन् । दुई दुई पटकसम्म असंवैधानिक रुपमा संसद विघटन गरेर पाँच बर्षका लागि जनताले दिएको जनमतलाई खेर फाल्ने काम भयो ।

केपी ओलीको उक्त कदमपछि मुलुकमा मुलत राजनीति दुई धारमा विभाजन भयो । मुलुकलाई अस्थिर बनाउने, संविधानलाई मिच्ने, लामो संघर्ष र आन्दोलनको बलमा प्राप्त उपलब्धीलाई मास्नतर्फ केपी ओली नेतृत्वको एमाले र राजावादीहरु एक ठाउँमा उभिए । असंवैधानिक रुपमा संसद विघटन गर्ने कदमको विरुद्धमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी लगायतका अग्रगमनको पक्षमा रहेका दलहरु एक ठाउँमा उभिने अवस्था आयो । अहिले हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि हामी अग्रगमन र परिवर्तनको रक्षामा उभिएका दलहरु एक ठाउँमा रहेर गठबन्धन गरेर चुनावी मैदानमा छौँ । म यतिबेला बाम लोकतान्त्रिक गठबन्धनबाट गण्डकी प्रदेशसभा सदस्यको लागि प्रदेश निर्वाचन क्षेत्र (क)बाट उम्मेदवार बनेको छु । मनोनयन दर्तापछि हामी गठबन्धनमा आबद्ध दलहरुले संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गरिरहेका छौँ । यस प्रदेश क्षेत्रमा गठबन्धनमा आबद्ध दलहरु मात्रै होइन, आम मतदाता पनि उत्साहित भएको पाएका छौँ ।

घरदैलो र चुनावी अभियान लिएर मतदाताको घरदैलामो पुग्दा तपाइँको क्षेत्रका मतदाताका माग, गुनासा के छन् ?
मुख्य गरि आम रुपमा जनताले विकास र समृद्धि चाहेका छन् । घरदैलो र चुनावी आम सभाको क्रममा गाउँघरमा पुग्ने क्रममा सडक, शिक्षा, स्वास्थ्य, खानेपानीको अवस्थामा सुधार र रोजागरको अवसर सिर्जना गर्नुपर्ने माग जनस्तरबाट आइरहेका छन् । यस अघि म्याग्दीका निर्वाचित भएका सांसदहरु मन्त्री हुँदा समेत जिल्लाको विकासमा कुनै ठोस काम गर्न नसकेको भनेर पनि जनताल प्रश्न राखिरहेका छन् । अझ निर्वाचनपछि नेताहरु गाउँ नै नफर्कने, जनताका गुनासा र समस्या बुझ्न नै नखोज्ने स्वभाब तपाईहरुमा पनि देखिने त होइन ? भनेर जनताले गुनासा गरेको देखिन्छ ।

जनताबाट आएका यस्ता समस्या र गुनासा सम्बोधन गर्न मतदातासमक्ष के के बाचा गर्नुभएको छ ?
खासगरी प्रदेस सभा सदस्यको भूमिका भनेको जनमैत्री र जनताको समस्या निराकरण हुने ऐन, नियम र कानुन निर्माण गर्ने हो । तर एउटा सशक्त प्रतिनिधिका रुपमा मेरो काम र कर्तव्य त्यतिमा मात्रै सिमित हुँदैन् । प्रदेश सरकार मार्फत हुने विकास निर्माण योजनाहरुलाई यहाँका अत्यावश्यक क्षेत्रहरुमा भित्र्याउने काममा मेरो भूमिका रहन्छ । जनतालाई हामीले झुटा आश्वासन बाँडेका छैनौँ । रेल र पानीजहाज ल्याइदिन्छौँ भनेको छैन् । जनताले प्रयोग गर्ने सडकलाई नियमित रुपमा सञ्चालन हुने गुणस्तरको बनाउने, हरेक घरमा शुद्ध खानेपानीको पहुँच पु¥याउने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, गाउँगाउँका स्वास्थ्य चौकीमा स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने, बेनी अस्पतालको निर्माणधिन भवनलाई सम्पन्न गर्नतर्फ भूमिका खेल्दै उपचार सेवालाई थप व्यवस्थित गर्नेतर्फ हामीले भूमिका खेल्छौँ भनेका छौँ । हामीले आम रुपमा जनताको जनजिविकालाई सहज बनाउने तर्फ प्रतिबद्धता जनाएका छौँ र जनताले मतदान गरेर चुनेमा हामी ती प्रतिबद्धताहरु पुरा पनि गछौँ ।

मुख्य गरि निर्वाचनमा तपाईका मुख्य प्राथमिकताका क्षेत्र के हुन ?
हेर्नुस आज गाउँ रित्तो र खाली भएका छन् । हाम्रा खेतियोग्य खेतवारी बाँझै भएका छन् । गाउँघरबाट रोजगारिका लागि युवाहरु विदेश पलायन हुने समस्याले गाउँ युवाविहिन बन्ने अवस्थामा पुगेका छन् । मुलुकमा राजनीतिक व्यवस्थामा परिवर्तन त आयो तर जनताको अवस्थामा परिवर्तन आउन सकेन । मैले आम रुपमा एउटा संकल्प गरेको छु । त्यो हो ‘गाउँलाई सहर र युवालाई आत्मनिर्भर’ बनाउने । अब पनि हामीले विकास निर्माणमा ध्यान नदिने हो भने सहरी क्षेत्रमा बसोबास अधिक हुने र गाउँघर खाली हुने निश्चित प्राय छ । सर्वप्रथम त हरेक ग्रामीण सडकलाई ग्राभेल र नाली निर्माण सहित सुधार गर्दै मुख्य सडकहरुलाई कालोपत्रे गर्नुपर्ने छ । कालीगण्डकी कोरिडोरको म्याग्दी खण्डको कामलाई गति दिनु छ । प्रदेश मातहत सञ्चालनमा रहेका कालोपत्रे सडकहरुलाई पूर्णता दिनु हाम्रो दायित्वको रुपमा रहेछन भने विकास निर्माणका पूर्वाधार, शिक्षा र स्वास्थ्यको गुणस्तर र पहुँच विस्तार गर्दै गाउँलाई नै सहर बनाउनुपर्छ भन्नेमा मैले विशेष योजना बनाएको छु ।

हाम्रा स्थानीय सम्भावना कृषि, पशुपालनलाई व्यवसायिकरण र आधुनिकीकरण संगै जलविद्यूत, पर्यटन, लघुउद्यम, जडिबुटीखेति, लगायतका क्षेत्रको सम्भावनालाई उजागर गर्नुको साथै युवाहरुलाई शिप र प्रविधिमैत्री बनाएर स्वदेशमै आत्मनिर्भर बनाउनका लागि प्रदेश सभा र प्रदेस सरकारबाट आवश्यक भूमिका निर्वाह गर्ने मेरो प्रतिबद्धता छ । हो म पनि विदेशको अनुभव संगालेको मान्छे हुँ । विदेशी भूमिको दुख र त्यहाँको बाध्यतामा जानकार छु । अहिले जसरी बाध्यतामा विदेश पलायन हुनुपर्ने समस्या छ नी त्यसको निराकरण गर्नै पर्छ । मानिस अध्ययन, व्यापार व्यवसाय लगायतको कामले रहरले जहाँ पनि जान सक्छ तर घरखर्च चलाउनकै लागि खाडीमा पुगेर पसिना बगाउनुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक वातावरण बनाउनुपर्छ, त्यसको लागि आबश्यक पर्ने नीति निर्माण र योजना तयारको क्षेत्रमा मैले हस्तक्षपकारी भूमिका खेल्नेछु । म्याग्दी बाढी, पहिरो र नदी कटानको जोखिममा रहेको जिल्ला पनि हो त्यसैले यहाँको विपद् व्यवस्थापन र प्राकृतिक प्रकोप नियन्त्रणको क्षेत्रमा पनि विशेष ध्यान दिनेछु ।

यहाँले निर्वाचनमा मतदाताबाट कस्तो प्रतिक्रीया पाउनुभएको छ ? यहाँको जित्ने आधार के के हुन् ?
वास्तवमा जनतामा राजनीतिक दलहरुप्रति आसा भन्दा बढी निरासा देखिन्छ । पाँच बर्षको लागि जनमत लगेर बिचैमा संसद विघटन गर्ने र राजनीतिलाई नै गलत बाटोतर्फ अगाडी बढाउने दुष्प्रयासले जनतामा कतै फेरी पनि यस्तै प्रवृत्ति दोहोरिने त होइन भनेर चिन्ता पनि देखिन्छ । यतिबेला मुलुकमा संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाकालाई बलियो बनाउँदै विकासको गतिमा देशलाई अघि बढाउन काँग्रेस, माओवादी, एकिकृत समाजवादी र जनमोर्चाले गठबन्धन गरेर अघि बढेको अवस्था हो । हिजो मुलुकमा शान्ति स्थापना गर्दा सहभागी दलहरु निर्वाचनमा समेत मिलेर आउँदा मतदातामा आसाको रेखा देखिन थालेको अनुभुति भएको छ । मतदाताहरुले मिलेर देश बनाउने कुरालाई सकरात्मक रुपमा लिएका छन् ।

अझ म्याग्दीमा त प्रतिनिधि सभामा काँग्रेसका खमवीर गर्वुजा, जो बेलायतको सुख र आरामको जिन्दगी विताउन सक्ने अवस्था रहँदा रहँदै पनि म्याग्दीमा विकास गर्नुपर्छ, यहाँको अवस्थामा परिवर्तन गर्नुपर्छ भनेर निरन्तर रुपमा लागिरहेको पात्र हुनुहुन्छ भने प्रदेश सभा क मा म ३७ बर्षको युवा र प्रदेश सभा ख मा समेत माओवादीका जिल्ला संयोजक समेत रहनुभएका सक्षम र सशक्त युवा नेता रेशम जुग्जालीलाई उम्मेदवार बनेर आउँदा आम युवा, बौद्धिक व्यक्तित्व र समाजका हरेक क्षेत्रका नागरिकहरु हाम्रो टिमलाई बिजयी गराएमा म्याग्दीले मुहार फेर्न सक्छ भन्ने निचोटमा पुगेको पाएको छु । यो निर्वाचनमा म्याग्दीबाट तीन सिटमै गठबन्धनको जित पक्का भैसकेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहमा दलहरुले पाएको मतका आधारमा पनि हामी हाम्रो प्रतिस्पर्धी दलहरुभन्दा हजारौँ मतले अगाडी छौँ भने हामीले म्याग्दीको विकास निर्माण र यहाँको अवस्थामा परिवर्तन गर्न अघि सारेका एजेण्डा र प्राथमिकताहरुले पनि मतदाताहरुमा उत्साह आएको छ, हामीप्रति भरोसा र विश्वास जागेको छ । हामीलाई विश्वास छ यस पटक म्याग्दीमा आम मतदाताले विकासको पक्षमा, समृद्धिको पक्षमा, संविधान रक्षाको पक्षमा गठबन्धनलाई मतदान गर्नेछन् ।

अन्तमा केही भन्नु छ की ?
यो निर्वाचनको क्रममा घरदैलो र चुनावी सभाको क्रममा मेरो निर्वाचन क्षेत्रका धेरै टोल बस्ती र घरदैलोमा पुगेको छु । समयको अभाबले कतिपय जानैपर्ने र गाउँ ठाउँ र घरदैलोमा पुग्न सकेको छैन । निर्वाचन पश्चात यहाँहरुको मतको उच्च कदर गर्दै अवश्य पनि म यहाँहरुको दुखसुखको साथि र सेवक बनेर आउने वाचा गरेको छु । मलाई विश्वास छ यो निर्वाचनमा मलाई यहाँहरुले अवश्यपनि मतदान गरि बिजयी गराउनुहुनेछ । यहाँहरुको विश्वासलाई मैले कदापी खेर जान दिने छैन् । मेरो पुरै कार्यकालमा यहाँहरुले अनुभूति गर्ने गरि विकास निर्माणमा जोडिनेछु । मेरो कार्य क्षमताले आगामी दिनमा माओवादीबाट मात्रै होइन हरेक राजनीतिक दलबाट युवाहरुलाई अवसर दिनुपर्छ भन्ने सन्देश दिने गरि काम गर्ने मेरो जमर्को हुनेछ । धन्यबाद

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार