‘म चुनाव वाहेकको समयमा पनि म्याग्देलीको सुख दुःखमा सँगै छु’ -रेशम जुग्जाली

  म्याग्दी न्युज संवाददाता

बेनी ।नेकपा (माओवादी केन्द्र) म्याग्दी जिल्ला समन्वय समितिका संयोजक रेशम बहादुर जुग्जाली मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिका समेटिएको यो क्षेत्रका १९ वटै वडामा चुनावी सभा र सबैजसो बस्तिमा घरदैलो गरिसकेका जुग्जालीसँग चुनावी अभियान, प्रतिवद्धता र गठबन्धनको अवस्था तथा योजनाका बारेमा गरिएको कुराकानी ।
–चुनावी अभियान कस्तो रह्यो ?
गत असोज २३ गते मनोनयन दर्ता भएपछि वाम लोकतान्त्रिक गठबन्धनमा आवद्ध म्याग्दीमा क्रियाशिल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुको बैठकबाट बनाइएको मुल परिचालन समितिको निर्णय अनुसार दुई चरणमा चुनावी अभियान सञ्चालन भब्य र उत्साहजनक रुपमा सफल भयो । पहिलो चरणमा कात्तिक १७ गतेसम्म पालिका, वडा र टोल स्तरमा वाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता भेला, प्रशिक्षण, चुनाव प्रचारप्रसार समिति गठनसँगै घरदैलो ग¥यौ । दोस्रो चरणमा घरदैलो र चुनावी सभा मार्फत जनताको घरदैलोमा पुग्ने, उहाँहरुका समस्या, गुनासा सुन्ने, आवश्यकता पहिचान गर्ने र हाम्रो प्रतिवद्धता जनाउने काम भयो । २०७४ को चुनावमा वाम गठबन्धन गरेर जुटाएको दुई तिहाई जनमतको नेकपा एमालेका अध्यक्ष केपी शर्माले असंबैधानिक रुपमा दुई पटक प्रतिनिधिसभा भंग गरेर अपमान गरेको, विकास आयोजनाहरुलाई कमिसनको चलखेलले थला पारेको, भ्रष्ट्राचारीको संरक्षण गरेको, देशमा स्थीरता, शुसासन कायम गर्न नसकेपछि विकल्पमा गठबन्धन बनेको हो । शान्ति प्रक्रीयादेखि संविधान जारी गर्ने समयमा सहकार्य गरेका प्रमुख दल र लिडरहरुको संविधान कार्यान्वयन गरेर देशमा स्थीरता, शुसासन, विकास, सम्बृद्धी, राष्ट्रियताको रक्षा गर्न गठबन्धन बनाएर जनतामाझ आएका हौ । म्याग्दीको परिवेशमा यहाँबाट २०५६ र २०६४ बाहेकका चुनाव जितेर नेकपा एमालेका नेताहरु मन्त्री समेत हुनुभयो । तर अहिलेसम्म मुस्किलले जम्मा ३० किलोमिटर सडक पिच भएको लाजमर्दो अवस्था छ । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत सुविधामा नागरिकले सास्ती पाएको, सामाजिक, आर्थिक क्षेत्रमा जिल्ला पछि पर्नुको कारण हिजो डाडुपन्यु हातमा हुँदा समेत आफ्नो क्षेत्रमा योगदान गर्न नसक्ने प्रतिनिधि हुन भन्ने विषय जनताले महशुस गरेका छन् । म्याग्दीको रुपान्तरणका लागि जनताले खोजेको विकल्प वाम लोकतान्त्रिक गठबन्धन हो । यहाँको आवश्यकता अनुसार चुनावी तालमेल भएकाले नेता कार्यकर्तामा उत्साह छ । इमान्दार र सक्रीयतापुर्वक चुनाव प्रचारमा खटिनुभएको छ । आम नागरिकहरुको हामी गठबन्धनका उमेद्वारहरुप्रति धेरै आशा र भरोसा गर्नुभएको छ । हामी उत्साही छौ । म्याग्दीका तीन वटै सिटमा गठबन्धनले जित्नेमा हामी ढुक्क छौ । यही सन्देश आम नागरिकहरुमा पु¥याउन अनुरोध छ ।
–यहाँको निर्वाचन क्षेत्रको सम्भावना र समस्या के पाउनुभयो ?
हाम्रो जिल्ला कालीगण्डकी र म्याग्दी नदीको तिरदेखि संसारको सातौ अग्लो धौलागिरि हिमालको शिरसम्म फैलिएको छ । भूगोल देखि समुदाय विविधतायुक्त छ । जलविद्युत, पर्यटन, कृषि, पशुपालन, जडिवुटी र खनिजका लागि यो क्षेत्रमा प्रशस्त सम्भावना छ । दुई सय मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजना यो निर्वाचन क्षेत्रमा निर्माणाधिन छन् । अझै थप आयोजना निर्माणको प्रक्रीयामा छन् । यी आयोजना कार्यान्वयनका क्रममा रोजगारी सिर्जनाका साथै निर्माण सकिएपछि विद्युत बेचेर राष्ट्रिय अर्थतन्त्र र रोयल्टीबाट प्रदेश तथा पालिकाको विकास निर्माणमा परिचालन गर्न सकिने सम्भावना छ । जलविद्युत आयोजनाका लागि आवश्यक जनशक्ति सिपमुलक तालिम सञ्चालन गरेर तत्कालै उपलब्ध गराउन सकेमा यही रोजगारी सिर्जना गर्न सकिन्छ । धवलागिरि, गुर्जा, ढोरपाटनको पदमार्गलाई व्यवस्थित गर्न सकियो भने धेरै अवसर सिर्जना हुन्छ । स्लेट, तामा र फलाम खानी अनुकुल नीतिको अभावले सञ्चालन गर्न समस्या भएको छ । सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न नीति र योजनाको अभाव तथा स्रोत साधनको परिचालन मुख्य समस्या हो । अन्य जिल्लाको तुलनामा कम बजेट भित्र्ने र भित्रिएको बजेट पनि प्रभावकारी हिसाबले कार्यान्वयन नहुँदा योजना अलपत्र परेका देखियो । सहज सडक यातायात, स्वच्छ खानेपानी, सर्वसुलभ र गुणस्तरीय शिक्षा, रोजगारी र आयआर्जनको अवसर यहाँको प्रमुख आवश्यकता हो । यहाँका स्रोत साधन परिचालन हुन नसकेर खेर जाने, आर्थिक स्रोत र कामको खोजिमा विदेशिनुपर्ने बिडम्बनापूर्ण अवस्था छ । यसको प्रमुख कारण हालसम्म जितेका प्रतिनिधिहरुले नीति, योजना र बजेट निर्माण देखि कार्यान्वयन गर्ने तहसम्म जनअपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेकाले भएको भन्ने आम बुझाईमा सत्यता छ । धेरै कुरा गर्नुपर्दैन । म्याग्दीका तीन वटा पालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरीको बेनी–दरवाङ खन्न थालेको २६ वर्ष सम्ममा बल्ल साढे १२ किलोमिटर पिच भएको छ । अन्य जिल्लाको तुलनामा म्याग्दीको पुर्वाधार विकासको अवस्था दयनीय भएको हामीले महशुस गरेका छौ ।
– मतदाताको अपेक्षा के छ ?
हाम्रा मतदाताको धेरै ठूलो अपेक्षा र हामीले असम्भव हुने किसिमका योजना बनाएका छैनौ । हाम्रो योजना र मतदाताको अपेक्षाले मेल खाएको छ । आम मानिसहरुले आधारभूत सेवा सुविधा पाउँदा विभेद नहोस, समान किसिमले विकास होस, सुरक्षित सडकमा सहज यात्रा गर्न, स्वच्छ खानेपानी, विद्युत सुविधा व्यवस्थित, शिक्षाको सुधार र स्वास्थ्य सेवाका लागि दुख पाउन नपरोस, यही रोजगार र आम्दानीको अवसर पाइयोस भन्ने छ । सार्वजनिक सेवा प्रवाह पारदर्शी, छिटो छरितो, झञ्जटरहित र मितब्ययी होस भन्ने जनताले चाहेका छन् । मतदाताले नीति र कानुनमा भन्दा पनि बढी विकासका योजनाको अपेक्षा गर्नुभएको छ । फरक तरिकाले काम गरेर म्याग्दीका जनताको विकासको भोक मेटाउने र परिवर्तनको महशुस गराउने योजना र क्षमता हामीसँग छ ।
–यहाको प्राथमिकताका क्षेत्र के हुन ?
काठमाडौ केन्द्रित विकास, स्रोत, सेवा र सुविधा गाउँसम्म पु¥याउन ल्याएको संघीय व्यवस्थाको सफल कार्यान्वयनका लागि आवश्यक नीति, नियम बनाउन म्याग्देली नागरिकको आवाजको प्रतिनिधित्व गर्ने मेरो भूमिका रहनेछ । ७० वर्षको संघर्ष, हामीले लडेको जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीको रुपमा रहेको संविधानको रक्षाका साथै जिल्लामा कार्यान्वयनमा रहेका सडक, विद्युत, खानेपानी, सिचाई आयोजनालाई पुर्णता दिने, नयाँ योजना भित्र्याउने, भित्रिएको बजेटलाई सही र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने मेरो प्रतिवद्धता हो ।
यो क्षेत्रको लाईफलाइन मानिएको बेनी–दरवाङ सडक कालोपत्र गर्न र मालिकाको केन्द्र दरवाङ देखि धवलागिरीको केन्द्र मुना जोड्ने सडक ग्राभेल गर्न गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको योजना निर्माणलाई पूर्णता दिनुपर्नेछ । सो निर्वाचन क्षेत्रमा पर्ने छ वटा वडामा अझै केन्द्रिय लाइनको विद्युत सुविधा पु¥याउनु पर्नेछ् । विजुली पुगेको वडाको पनि पुरै भूगोलमा विस्तार गर्र्नुपर्नेछ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीकोको अवसरका खोजीमा बसाईसराइका कारण जनसंख्या घट्दै गएको छ । भौगोलिक रुपमा विकट क्षेत्रमा निर्माणाधिन सडक पुल, खानेपानी, सिचाई, झोलुङ्गे पुल, सडकका आयोजना समयमा पुरा हुदैनन् । यसका लागि अनुकुल नीति बनाउन भूमिका खेल्छु ।
म्याग्दीका पाँच वटा स्थानीय तहलाई जोड्ने बेनी–दरबाङ– बिम– मराङ–मल्कवाङ– ठाडाखानी–पाखापानी– झिँ–पात्लेखेत–घतान– बेनी जोड्ने सडकलाई म्याग्दी–राहुघाट कोरिडोर चत्रपथ बनाउने, लुलाङ, गुर्जा र लाई सडक सञ्जालसँग जोड्ने, धवलागिरी गाउँपालिका देखि ढोरपाटनलाई सडक सञ्जालले जोड्ने, दरवाङ–सोलेडाडा–लामेला–बुर्तीवाङ सडकलाई स्तरोन्नती गरेर मध्यपहाडी लोकमार्गको बैकल्पिक सडक बनाउन सकेमा यस क्षेत्रका कायापलट गर्न सकिन्छ । ढोरपाटन र रुकुमलाई सडकले जोडेपछि बागलुङ खण्डको भन्दा धेरै छोटो हुन्छ ।
–तपाईका जितका आधार के के हुन ?
म अहिले ३९ वर्षको भए । विगत २२ वर्षदेखि म्याग्दीका जनताको सुखमा साथी र दुःखमा सेवक बनेर काम गरेको छु । यहाँको भूगोल र जनताले मलाई चिनेका छन, मैले जनता र उनिहरुको समस्या, आवश्यकता र सम्भावनालाई बुझेको छु । अघिपछि सधै काठमाडौमा बस्ने अनी चुनावका लागि मात्र जनता खोज्दै आफ्नो भूगोलमा आएकाबाट हाम्रो आवाजको प्रतिनिधित्व र समस्याको हल हुदैन भन्ने यहाँका जनताले प्रष्टसँग बुझेका छन् । मैले जिते भने जनता र जनप्रतिनिधिबिच दुरी हुनेछैन् । म्याग्दीमा माओवादीको संगठन एमाले काँग्रेसकै हाराहारीमा पुगेको छ । नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र जनमोर्चाका नेता, कार्यकर्ताहरु उत्साहीत र सक्रीय भएर चुनावी अभियानमा इमान्दारीताका साथ लाग्नुभएको छ । विगतमा उपभोक्ता समितिमा रहेर विकासका आयोजना कार्यान्वयनमा गरेको योगदान र बिमको वडा अध्यक्ष भएर एक कार्यकाल जनताको सेवा गरेको अनुभव म सँग छ । गत स्थानीय चुनावमा मालिका गाउँपालिकाको अध्यक्षको उमेद्वार भएर हारेको पनि हो । मसँग जित, हार र जनताका काम गरेको अनुभव छ । हाम्रो पक्षमा देखिएको जनलहरबाट अत्तालिएका प्रतिस्पर्धीहरुले दुषप्रचार र विभिन्न हत्कण्डा अपनाउन खोज्नु हामी बलियो भएरनै हो । राष्ट्रिय स्तरमा मात्र नभएर म्याग्दीमा पनि गठबन्धनको आवश्यकता, औचित्यता र योजनाका विषयमा सबै स्पष्ट हुनुहुन्छ । गठबन्धनभित्र कुनै असन्तुष्टि छैन् । हिजो सँगै प्रतिस्पर्धा गरेका साथीहरुपनि मसँगै गठबन्धनलाई जिताउन दिलोज्यान दिएर लाग्नुभएको छ । म मात्र नभएर प्रतिनिधिसभाका उमेद्वार नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा र म्याग्दी प्रदेशसभा क्षेत्र (क)मा उमेद्वार माओवादी केन्द्रका युवा नेता क. हरिबहादुर भण्डारीले पनि ठूलो मतान्तर सहित चुनाव जित्छौ । यो चुनाव हामी उमेद्वार, पार्टी र गठबन्धनले होइन रुपान्तरण र परिवर्तनका लागि म्याग्दी जिल्लाले जित्ने हो ।
–म्याग्दीको केन्द्रिय राजनीतिमा पहुँच भएन भन्ने आरोप छ । तपाईहरुबाट यो पुरा हुन्छ भनेर विश्वास गर्ने आधार के हो ?
यो विषय सत्य हो । केन्द्रिय राजनीतिमा उपस्थिति जनाउनुभएका र मन्त्रि हुँदा समेत गर्न नसक्नुभएको हो । उहाँहरुकै पार्टीबाट जितेका अरु जिल्लाका सांसदले गर्न सक्ने हाम्रो जिल्लाका मन्त्री हुँदा समेत जनताले विकासमा राहतको महशुस गर्न नपाउने अवस्था आउनुमा उहाँहरु जिम्मेवार होइन ? हामी कुनै नेताको आर्शिवादले राजनीति गरेका होइनौ । जिरो ग्राउण्डबाट आएका हौ । हामीले नेताले जे भन्छन त्यही मान्ने भए सिट बाँडफाँडका क्रममा केन्द्रिय स्तरबाट भएको सहमति जिल्लाको आवश्यकता अनुसार परिवर्तन हुने थिएन । यसबाटनै हामी हाम्रा नेतृत्वसँग ठाडो शिर गरेर कुरा गर्न सक्छौ भन्ने पुष्टि गरेका छौ र जनतालाई सन्देश दिएका छौ । संसदमा आवाज बुलन्द गर्ने मात्र होइन मन्त्रालयका टेवुल ठोक्ने र नेतृत्वले गलत गर्दा औला ठडाउन सक्ने हिम्मत हामीसँग छ । यहाँहरुले हाम्रो राजनीतिक पृष्ठभूमिलाई अध्ययन गर्नुभए हुन्छ । हिजो प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुभएका डा. मिनबहादुर श्रेष्ठ अहिले माओवादी केन्द्रको समानुपातिक उमेद्वारमा प्राथमिकतामा हुनुहुन्छ । उहाँलाई पाउनु म्याग्दीको लागि महत्वपूर्ण अवसर भएको उपाध्यक्ष हुदाँनै उहाँले जिल्लाको लागि गर्नुभएको योगदानबाट पुष्टि हुन्छ । हाम्रा प्रतिनिधिसभाका उमेद्वार काँग्रेसका सभापति खम्बिर गर्बुजा पनि बेलायतको सेवा सुविधा त्यागेर म्याग्दीलाई रुपान्तरण गर्न लाग्नुभएका हुनुहुन्छ । प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरि भण्डारी युवा हुनुहुन्छ । त्यसैगरी काँग्रेसबाट समानुपातिकबाट प्रदेशसभा उमेद्वार बिमला गौचन, माओवादीका बागबिर पाइजा, एकिकृत समाजवादीका दिलु बुद्धुजा, दुर्गा कार्की, जनमोर्चाका छवी विश्वकर्मा पनि उमेद्वार हुनुहन्छ । संसद र सरकारमा हाम्रो जिल्लाको प्रभावकारी र उपलब्धीमुलक उपस्थिति जनाउने यो अवसर म्याग्देलीले गुमाउनुहुनेछैन भन्ने अनुरोध गर्दछु ।
–अन्तमा मतदाता र कार्यकर्ताहरुलाई केही भन्नु छ की ?
चुनावी अभियानको क्रममा म म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)का सबै मतदाता माझ आउने अधिकतम प्रयास गरेर टोल टोलसम्म पुगेको छ । कुनै कारणले कसैकहाँ आउन नसकेको भएपनि यसै सन्देश मार्फत मेरा बिचार र अनुरोधलाई बुझ्नुहुनेछ भन्ने विश्वास गर्दछु । भोली चुनाव जितेपछि यहाँहरुको सल्लाह, सुझाव अनुसार काम गर्ने प्रतिवद्धता जनाउदछु । गठबन्धनका उमेद्वारलाई जिताउन अहिलेसम्म जसरी सक्रीय र इमान्दारीताका साथ खट्नुभएका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदै मतदान नसकिदासम्मका लागि अझै सचेत भइदिनुहुन अनुरोध गर्दछु । यस पटक जिल्लाको परिवर्तन र रुपान्तरणका लागि भ्रम, प्रलोभन, डर र त्रासबाट मुक्त भई गठबन्धनका उमेद्वारहरुलाई मतदान गरेर जिताउनका लागि अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार