आज आम आमनिर्वाचन

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । प्रतिनिधिसभामा ११० समानुपातिक सांसद र प्रदेशसभामा २२० समानुपातिक सांसदको छनौट पनि यस निर्वाचनले गर्नेछ ।

निर्वाचनमा कुल २७५ प्रतिनिधिसभा सांसद र ५५० प्रदेशसभा सांसदका लागि मतदान हुनेछ ।यसका लागि मतदाताले प्रतिनिधिसभा प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक, प्रदेशसभा प्रत्यक्ष, प्रदेशसभा समानुपातिक गरी चारवटा मतपत्रमा मत खसाल्नुपर्नेछ ।

कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ छन् । अस्थायी मतदाता ४ लाख ५० हजार छन् ।२२ लाख ९४ हजार १९ जना पहिलो पटक मतदानमा सहभागी हुँदै छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६१ दलका १ हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् । प्रदेशसभामा ३ सय ३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् भने समानुपातिकमा ३ हजार ७०८ जना उम्मेदवार छन् ।

मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारी अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाइ, लाइटर लैजान निषेध गरिएको छ ।

निर्वाचनका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदानस्थलको सुरक्षाका लागि २ लाख ९८ हजार सुरक्षाकर्मी खटिएका छन् । आयोगका अनुसार ७१ हजार ६ सय ९३ प्रहरी, १ लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८ सय ४९ सेना, ३५ हजार १ सय १६ सशस्त्र प्रहरी र १ हजार ८ सय २१ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार